विराटनगर। इटहरी उपमहानगरपालिकाले खोला तथा पैनी मिचेर बनाइएका भौतिक संरचना भत्काउन शुरू गरेको छ । इटहरीमा वर्षेनि बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो । मंगलवार इटहरीस्थित टेंग्राखोलाको सिरानबाट डोजर चलाउन शुरू गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला, पैनी पुगेका थिए । बारम्बार सूचना जारी गर्दा पनि नटेरेपछि उपमहानगर आफैले भत्काउन शुरू गरेको उनले बताए । यसपटक कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने उनको भनाइ छ ।
टेंग्राखोला, खेतीखोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मीटर छाडेर भवन र अन्य संरचना बनाउनुपर्ने प्रचलित कानूनलाई आधार मान्दै उक्त खोला, पैनीको दुवैतर्फ ६/६ मीटर नछोडी बनेका भवन र संरचना हटाउन थालिएको छ । वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठूलो पानी पर्दा त भयावह स्थिति आउँछ । हरेक वर्षामा खोलाको तटीय क्षेत्रका बासिन्दा त्रस्त हुने गरेका छन् । आउँदो वर्षामा तटीय बस्ती जोगाउन उपमहानगरपालिकाले अवैध संरचना हटाउन थालेको मेयर पौडेलको भनाइ छ ।
इटहरी उपमहानगरपालिकामा २० वडा छन् । तीमध्ये ३, ४, ९, १०, ११ र १२ बाढीबाट प्रभावित हुने गर्छन् । २०७४ सालमा आएको बाढीबाट ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको ज्यान लिएको थियो भने थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो । बाढी पस्ने ठाउँमा दीर्घकालीन तटबन्ध निर्माण नहुँदा इटहरीका बासिन्दा पटकपटक बाढीको चपेटामा पर्दै आएका छन् ।