गलेश्वर । म्याग्दीका किसानले ख्यालख्यालैमा शुरु गरेको टिम्मुरखेती उनीहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुरखेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् ।
आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ । त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा रु ३ सयदेखि ५ सय र सुकाएको रु १ हजार ५ सयदेखि रु २ हजारसम्म विक्री हुने गर्दछ ।
बहुउपयोगी टिम्मुरको महत्त्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिम्मुरखेती शुरु गरेका हुन् । पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल विक्री गरेर वार्षिक रु २ लाखदेखि रु ७ लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् ।
जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुरखेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली तथा बेँसी क्षेत्र र बेनी नगरपालिका—३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिक रूपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिम्मुरखेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताए । उनका अनुसार जिल्लामा वार्षिक करिब ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।
टिम्मुरखेतीको व्यावसायिक उत्पादन गरिरहेका अगुवा कृषक लालबहादुर घर्ती टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्त्वपूर्ण वनस्पति भएको बताउँछन् । उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा विक्री गर्दै आएका छन् । टिम्मुर विक्री गरेर गतवर्ष रु ४ लाख ८६ हजार आम्दानी गरेका घर्तीले यसवर्ष टिम्मुरखेती विस्तार गरेको बताए ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न शुरू हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि विक्रीका लागि योग्य हुन्छ ।
म्याग्दीमा वार्षिक ५ हजार किलो टिम्मुरको माग भए पनि ३ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ । रासस