साउन २७, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १०१ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले रू. १ करोड १९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २ करोड ४० लाख पुगेको हो । गत आवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवमा मात्रै रू. १३ करोड ४६ लाख खराब कर्जा संकलन गरेको छ ।
खराब कर्जा संकलन बढेसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ। । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ५ दशमलव ८१ प्रतिशत रहेकोमा गत आवमा ३ दशमलव २० प्रतिशतमा झरेको हो ।
त्यसैगरी कम्पनीको सञ्चालन नाफा भने रू. ९ करोड ७४ लाख ऋणात्मक रहेको छ । कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रहेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ करोड ४९ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ६० करोड २९ लाख सापटी लिएर, रू. ७७ करोड ६७ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ५५ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।
त्यसैगरी कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २१ दशमलव ९८, मूल्य आम्दानी अनुपात ४५ दशमलव ६० गुणा, तरलता अनुपात ४ दशमलव १९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४३ रहेको छ । हालसम्ममा कम्पनीले १३ ओटा जिल्लामा ३५ शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।