काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा १०६ दशमलव ६२ प्रतिशतले बढी खुद नाफा गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्दा गत वर्ष यस अवधिसम्म १० करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २१ करोड ५२ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष कम्पनीको खुद ब्याज आ म्दानी ८७ दशमलव ९६ प्रतिशत वृद्धि भई ६६ करोड ३८ लाख रुपैयाँभन्दा बढी भएकाले खुद नाफामा राम्रो प्रभाव परेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ३५ करोड ३१ लाख रुपैयाँभन्दा बढी रहेको थियो । यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा २४ करोड १५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख ९ हजार रुपैयाँ छ भने जगेडा कोष रकम १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छ । दोस्रो त्रैमाससम्म ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १६ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
यस अवधिसम्म कम्पनीको कर्जा प्रवाह २२ अर्ब रुपैयाँभन्दा बढी छ । गत वर्ष ३ दशमलव ७४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव शून्य ४ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २१९ रुपैयाँ ६७ पैसा छ ।