बेदकोट (कञ्चनपुर) । कञ्चनपुरमा विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कुनैबेला कञ्चनपुरमा तीन/चार सय हेक्टर क्षेत्रमा चैते धानखेती हुने गरेकामा अहिले उक्त क्षेत्रफल खुम्चिएर एक सय ५० हेक्टरमा पुगेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिए । विगतका वर्षभन्दा चैते धानको खेती घट्दो क्रममा छ । कुनैबेला तीन सय बढी हेक्टरमा खेती हुन्थ्यो”, उनले भने, अहिले डेढ सय हेक्टर पनि पुग्न मुश्किल छ ।” सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ । "यो धानका लागि नियमित सिँचाइ हुने जमिन हुनुपर्छ । सबैतिर सिँचाइ सुविधा पुगेको छैन । बोरिङ हुनेहरुले मात्रै निरन्तरता दिँदै आएका छन्”, उनले भने, "कतिपयले समयमै गहुँ काट्न नसकेर र खाली जग्गा नहुँदा पनि चैते खेतीबाट छुटिरहेका छन् ।”
कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्नेलगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडिएको बताउँछन् । जिल्लाको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, वेदकोट, कृष्णपुर, बेलडाँडी, बेलौरी र पुनर्वासलगायत क्षेत्रमा चैते धानखेती बढीमात्रामा गरिनेमा अहिले कृषकको सङ्ख्या पनि घट्दै गएको केन्द्रका सूचना अधिकारी जोशीले बताए । उहाँका अनुसार भीमदत्त, बेलडाँडी र बेलौरीको केही क्षेत्रमा अहिले पनि खेती भइरहेको छ । "फागुनमै बेर्ना ९बीउ० राखिन्छ । चैतमध्यसम्म धान रोपीसक्नुपर्छ”, बेलडाँडी–५ का तीर्थ रोकायाले , "सिँचाइको सुविधा नहुँदा समस्या हुने गरेको छ । असारमा यो धान तयार हुने भएकाले बर्खामा बाली भित्र्याउन सकस हुन्छ ।”
कञ्चनपुरमा चैते धानको उत्पादन भने राम्रो हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले बताए । निकै सम्भावना बोकेको यो खेतीबाट दोहोरो फाइदा लिन सकिने उनको भनाइ छ । "अरु बेलाको धानको उत्पादन औसत चार मेट्रिकटन प्रतिहेक्टर छ । चैते धानको उत्पादन साढे चार मेट्रिकटनभन्दा बढी छ”, उनले भने , "यो धान भित्र्याएलगत्तै अर्को खेती गरेर दोहोरो फाइदा लिन सकिन्छ ।”
चैते धानखेती विशेष गरेर चिउरा तथा भुजाका लागि उपयुक्त मानिन्छ । स्थानीयस्तरमा उत्पादित धानले सहजै बजार नपाउँदा बिक्रीवितरणमा समस्या हुने गरेको कृषकको भनाइ छ । किसानलाई चैते धानतर्फ आकर्षित गर्न चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत उक्त धान प्रदर्शनका साथै कृषकलाई बीउवितरण गरिँदै आइएको सूचना अधिकारी जोशीले जानकारी दिए । केन्द्र र प्रधानमन्त्री कृषि आयोजनाले संयुक्तरुपमा चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चैते–५ र हर्दिनाथ जातका धानको बीउ वितरण गरिएको उनको भनाइ छ । कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ । रासस