काठमाडौं । गरीबले खाने अन्नका रूपमा परिचित कोदोको बहुगुणबारे चर्चा हुन थालेपछि नेपालमा पनि यसको उत्पादन तथा उपभोग बढ्न थालेको देखिएको छ ।
विगतमा मूलत: ग्रामीण भेगमा खाइने कोदो हाल शहरका ठूलाठूला मार्टमा पनि पाइन थालेको छ । शहरी क्षेत्रमा बढ्दो मागसँगै केही वर्षयता देशमा कोदोको उत्पादन निरन्तर बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ ।
कोदो नेपालको धान, मकै, हुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो । वर्षौंदेखि किसानले परम्परागत रूपमा संरक्षण गर्दै आएको कोदो, कागुनो, चिनो, जुनेलो, बाजरा, साँवा आदि कोदो प्रजातिका बाली हुन् ।
नेपालमा पछिल्लो ४ वर्षमा कोदो उत्पादन निरन्तर बढिरहेको राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय कृषि गणनाले देखाएको छ ।
आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालमा ३ लाख २६ हजार ४४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा आव २०८०/८१ मा बढेर ३ लाख ५८ हजार ४४७ मेट्रिक टन पुगेको छ । पछिल्लो वर्षको उत्पादन ४ वर्षअघिको तुलनामा करीब ३२ हजार मेट्रिक टनले धेरै हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार पछिल्लो समय विश्वव्यापी रूपमा कोदोको बहुगुणी विशेषताबारे चर्चा हुँदै गएको अवस्थामा नेपालमा पनि यसको महत्त्व चुलिँदै गएको छ ।
जलवायु परिवर्तनले बालीनालीमा पारेको असरसँग जुध्न, खाद्य असुरक्षालाई न्यूनीकरण गर्न, स्थानीय बेरोजगारी कम गर्न र खाद्यान्नमाथिको बढ्दो परनिर्भरता हटाउन सरकारले कोदो तथा कोदोजन्य बालीको उत्पादन वृद्धि र प्रवर्द्धनलाई अभियानका रूपमा सञ्चालन गरेको श्रेष्ठले बताए ।
उनका अनुसार नेपाल सरकारले कोदोजन्य बाली प्रवर्द्धनका लागि २०७० साल देखि नै कोदो मिशनका रूपमा कार्यक्रमहरू गर्दै आएको छ ।
- सुत्केरी, नवजात शिशु, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोललगायत अन्य मुटुसम्बन्धी समस्या भएका दीर्घरोगीका लागि कोदोको परिकार राम्रो
- साउन १५ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
पछिल्लो ५ वर्षमा सरकारले कोदो मिशन कार्यक्रममार्फत ४०० ओटा पालिकासँग सहकार्य गरेर विभिन्न कार्यक्रममा १ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । साथै हरेक वर्षको बजेटमा यसका लागि रकम छुट्ट्याउँदै आएको छ । पछिल्लो समय सरकारले कोदो उत्पादन र यसको खेतीमा युवाको आकर्षण बढाउन अनुदान लिन थालेको छ । अनुदानपछि उत्पादन वृद्धि भएको श्रेष्ठ बताउँछन् ।
जानकारहरूका अनुसार विगतमा कोदोको बहुगुणी उपयोगिताबारे आम मानिसमा ज्ञान नहुँदा नेपालमा यो बालीलाई हेलाँको दृष्टिले हेर्ने चलन थियो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनसँगको सहकार्यमा नेपालमा पनि सन् २०२३ लाई कोदो बाली वर्षका रूपमा मनाइएको थियो ।
पछिल्लो समय कोदो प्रतिकूल मौसमको सामना गर्न सक्ने र रोग किराले सहजै आक्रमण गर्न नसक्ने बालीको रूपमा परिचित हुँदा खेती गर्नेको संख्या बढ्दो छ । अहिले काठमाडौंलगायत अन्य शहरका ठूला सपिङ मल, मार्ट र सुपरमार्केटमा समेत यसको ब्रान्डिङ गरेर विभिन्न परिकार विक्री गर्ने गरिएको छ । भाते संस्कृतिले गिजोलेको नेपाल जस्तो मुलुकमा अझै यसको लाभदायी पक्षबारे व्यापक प्रचारप्रसार हुन जरुरी रहेको प्रांगारिक तथा रैथाने बालीको प्रवर्द्धन गर्दै आएका खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् ।
स्वास्थ्यका लागि उपयोगी
विभिन्न अध्ययन तथा पोषणविद्का अनुसार बहुगुणी कोदो मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । संयक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २०२३ मा प्रकाशन गरेको पुस्तक ‘मिलेट रेसिपी’मा उल्लेख भएअनुसार कोदोमा कार्बोहाइड्रेटसहित मानव शरीरलाई आवश्यक फाइबर, भिटामिन, फलाम, प्रोटिन, एन्टी अक्सिडेन्ट मिनरल्स र खनिज पदार्थ प्रशस्त मात्रामा पाइने हुँदा मानव स्वास्थ्यका लागि कोदो अमृत समान छ ।
पोषणविद् डा. अरुणा उप्रेतीले पनि सुत्केरी, नवजात शिशु, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोललगायत मुटुसम्बन्धी समस्या भएका दीर्घरोगीका लागि कोदोको परिकार अमृत समान हुने बताइन् ।
‘पछिल्लो समय बालबालिकामा कुपोषणको समस्या विश्वव्यापी रूपमै बढेकाले स्कूले बालबालिकाको दिवा खाजामा कोदोजन्य परिकार समेट्न सकियो भने कुनै पनि बालबालीका कुपोषणको शिकार हुनु पर्दैन,’ उनले आर्थिक अभियानसँग भनिन् ।
राष्ट्रिय कोदो दिवस मनाउन प्रस्ताव
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन १५ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन प्रस्ताव अघि सार्ने भएको छ । सहसचिव श्रेष्ठका अनुसार साउन १५ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा छलफलका लागि पठाउने तयारी गरेको छ ।
खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारीले नेपालमा कोदोजन्य बालीको व्यापक प्रचारप्रसार हुन जरुरी रहेको बताउँदै २०७३ सालदेखि नै आफूहरूले यसको प्रवर्द्धनलाई अभियानका रूपमा अघि बढाएर साउन १५ गतेलाई कोदो दिवसका रूपमा मनाउन थालेको बताए । अहिले कृषि मन्त्रालयले समेत मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुले आफ्नो अभियान सार्थकतातर्फ गएको उनले बताए ।