कोर बैंकिङ प्रणालीको अर्थ बैंकिङक्षेत्र डिजिटलाइजेशन हुनु हो र सबै कारोबार प्रविधिमार्फत हुनु हो । विश्व परिवेशलाई हेर्दा कोर बैंकिङमा नेपाल धेरै पछाडि छ । कोर बैंकिङ सबै बैंक तथा वित्तीय संस्थामा कम्प्युटर प्रणालीका रूपमा विकास त भएको छ तर अझै पनि बैंकिङ बाहेकका अधिकांश कारोबार म्यानुअल रूपमा नै गर्ने भइरहेको अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा कोर बैकिङ प्रणालीको विकास भई आज पेपरलेस कारोबारका कुरा गर्न सक्ने अवस्थामा छ तर हाल पनि अधिकांश कारोबारमा कागजको प्रयोग भइरहेकै छ । कम्प्युटर अनलाइनका माध्यमबाट अत्याधुनिक प्रविधिमा आधारित प्रणालीको प्रयोगद्वारा बैंकिङ कारोबार गर्न तयार गरिएको कम्प्युटराइज्ड प्रणालीलाई नै कोर बैंकिङ प्रणाली भन्ने गरिन्छ । यसमा बैंकिङ कारोबारको अभिलेख दीर्घकालसम्म राख्न सकिन्छ । कुनै पनि बैंकको केन्द्रीय कार्यालयमा एक सेन्ट्रल सर्भरको व्यवस्था गरिएको हुन्छ र यसमा सबै शाखा प्रशाखाहरूलाई लिंक गरिएको हुन्छ । यो वेबबेसमा आधारित हुने भएकाले बैंकिङ अभिलेख इन्टरनेटको माध्यामवाट जुनसुकै शाखाबाट सजिलै हेर्न र कारोबार गर्न सकिन्छ । यसमा अनलाइनका माध्यमबाट एटीएम, एबीबीएस, क्रेडिटकार्ड, डेबिट कार्ड, आस्बा, बैंक रिकन्सिलेशन, रेमिटान्स, विद्युतीय चेक भुक्तानी, शाखारहित बैंकिङ आदि सहजै सञ्चालन गर्न सकिने भएकाले यसलाई बैंकिङ क्षेत्रलगायत समग्र देशकै समृद्धिको आधार भन्न सक्छ ।
कम्प्युटरको प्रोसेसिङ प्रणाली र नयाँ बैंकिङ प्रविधिको प्रयोग अज्ञानताका कारण दिन प्रतिदिन जोखिम बढिरहेको छ । यन्त्रीकरण हुनु मात्रै समस्याको समाधान होइन । तर, यन्त्रीकरण भइसकेपछि त्यसको क्षमता, मर्मत सम्भार, सम्बद्ध कर्मचारीलाई उचित तालीमको अभावमा यसको सही सञ्चालन एकातर्फ कमजोर छ भने अर्कोतर्फ सम्भावित जोखिमहरूलाई पहिचान गरी त्यसको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यमा बैंकिङ क्षेत्र चुकेको देखिन्छ । प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न युग सुहाउँदो प्रविधिको विकास आजको आवश्यकता हो । हरेक बंैक तथा वित्तीय संस्थाको विशेष गरी बैंकिङ कारोबार यन्त्रीकरणमार्फत नै हुने गरेको छ ।
बैंकिङ उपकरण सञ्चालन गर्ने, मोबाइल बैंकिङ र एसएमएसबाट कारोबार गर्न जान्ने अर्थात बैंकिङ प्रविधिको ज्ञान भएको ग्राहक संख्या हेर्दा समग्रमा करीब १५ प्रतिशत मात्र देखिन्छ । अधिकांश ग्राहक बैंकमा नै उपस्थित भई नगद जम्मा गर्ने र चेकद्वारा भुक्तानी लिने भएकाले बैंकिङ क्षेत्रमा ग्राहकको भौतिक उपस्थितिले भीड बढ्दा संक्रमणलाई थप मलजल गरिरहेको देखिन्छ । यसका लागि बैंकिङ प्रविधिको प्रयोगका बारेमा जनसाधारणलाई वित्तीय रूपमा साक्षर तुल्याउन जति ढिला हुन्छ उति हामी कोर बैंकिङको प्रणालीको उपयोगमा पछि पर्ने कुरामा कसैको शंका नरहला । तसर्थ बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई बैंकिङ प्रविधिको प्रयोग बारेमा वित्तीय साक्षरताद्वारा आवश्यक ज्ञान दिन सकेमा मात्र कोर बैंकिङ प्रणाली थप सुदृढ हुनेछ । कार्यालयमा जडित कम्प्युटरलगायत प्रविधिहरूको नियमित मर्मत सम्भार, यससँग सम्बद्ध विषयमा कर्मचारी तालीमका साथै कोर बैंकिङ प्रणालीलाई बलियो र भरपर्दो बनाउन भरपुर बजेटको व्यवस्थामा जोड दिनुपनि उत्तिकै आवश्यक देखिन्छ ।
कोर बैंकिङ प्रणालीको आवश्यकतालाई दृष्टिगत गर्दा यसले बैंकिङ क्षेत्रको सुशासन बढाउनेलगायत ई कर्मश, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, प्रतीतपत्र तथा बैंक ग्यारेन्टीजस्ता कार्यहरूमा सहजता ल्याउँछ भने ग्राहक सेवासमेत छिटोछरितो हुने, पेपर लेस वर्क हुने, कार्य बोझलाई घटाउने र ग्राहकको संख्या समेत बढाउँछ । त्यस्तै बैंकको कार्यदक्षताको अभिवृद्धि, ग्राहाक सेवामा सुधार, अत्याधुनिक भुक्तानी प्रणाली, सुरक्षित तथ्यांकको भण्डारण, आन्तरिक नियन्त्रण र निरीक्षणमा सहजता, केन्द्रीय बैंक तथा सरकारको नीतिनिर्माणमा सहयोग, सञ्चालन लागतमा कटौैती, दैनिक बैंकिङ कारोबारमा सहजताजस्ता महŒवका कारण कोर बैंकिङ समृद्धिको आधार हो भन्नुमा अत्युुक्ति नहोला । यसका चुनौतीहरूलाई हेर्दा तथ्यांक सुरक्षाको समस्या, खर्च बढी लाग्ने, दक्ष कर्मचारीको अभाव, नेपालमा इन्टरनेट निकै सुस्त गतिमा चल्ने र बेला बेलामा कनेक्शन समस्या आइरहने हुँदा दैनिक कारोबारमा समस्या, आवश्यक मर्मत सम्भारको अभावले बेला बेलामा बैंकिङ कारोबारमा समस्या आउने, साइबर आक्रमणको बढ्दो जोखिम, सिस्टम अडिटको समस्या, फ्रड र फेक कारोबारको समस्या, आवश्यक सफ्टवेयरको अभाव, वित्तीय साक्षरता अर्थात् ग्राहकमा प्राविधिक ज्ञानको अभावलगायत छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा कोर बैंकिङ प्रणालीअन्तर्गत विद्युतीय भुक्तानी प्रणाली कारोबार संख्यालाई हेर्दा एटीएम, मोबाइल बैकिङ, इन्टरनेट, डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङलगायत २०७७ असार मसान्तमा १०,१७९,५५७ देखिन्छ । गत असार महीनाको तथ्यांक हेर्दा नेपालभर १५५ बैंक तथा वित्तीय संस्थाका ९९६५ शाखा कार्यालय छन् । सबै कोर बैंकिङ प्रणालीमा नै आबद्ध छन् तापनि आधिकांशमा ६० प्रतिशत कारोबार प्रविधिको प्रयोगविना कागजी रूपमा गरिएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाका कतिपय कार्यालयमा अझै पनि कागजपत्रको चाङलाई कम्प्युटराइज्ड गरी व्यवस्थित गर्न सकिएको छैन भने सबै कारोबारलाई कोर बैंकिङ प्रणालीमा एकाकारसमेत गर्न सकेको अवस्था छैन ।
तसर्थ नेपालको बैंकिङ क्षेत्रले कोर बैंकिङ प्रणालीको थप विकास र यसक्षेत्रको सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउन लागि एकातर्फ प्रविधिमैत्री कानून पर्याप्त देखिँदैन भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले प्रविधिमा ठूलो लगानी गर्न सकेको अवस्था छैन । पर्याप्त जनचेतना र साक्षरतासमेत नभएको हुँदा कोर बैंकिङलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्न र भविष्यमा नेपाललाई पनि विश्वसामु पेपरलेस देश वा बैंक भनेर चिनाउन सम्बद्ध निकायले बेलैमा कार्ययोजना बनाई कार्यान्वयन गर्न आवश्यक छ ।
लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।