काठमाडौं । नेपाल–भारत सीमामा पर्ने कोशी ब्यारेजको विकल्पमा नयाँ पुलको योजना अगाडि बढेको छ । पूर्वपश्चिम राजमार्गको सप्तरी र सुनसरी जिल्लालाई जोड्ने ब्यारेजको आयु सकिएको र सोही स्थानमा अर्को पुल बनाउन जमाइएको पानीका कारण समस्या हुने बताउँदै नेपाल सरकारले वैकल्पिक पुलको निर्माणको तयारी अगाडि बढाएको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको कञ्चनरूप नगरपालिकाको कञ्चनपुरबाट पूर्वतर्फ लाग्ने हालको सडक हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ नयाँ सडक निर्माण गरिने भएको छ । त्यसपछि आरक्षको पूर्वीछेउ हुँदै आरक्षको उत्तरी सीमाबाट सप्तकोशी पार गर्ने तीन किलोमीटर लामो पुल निर्माण गर्ने योजना छ । उक्त सडक र पुललाई पूर्वपश्चिम राजमार्गमा जोड्न पुलबाट सोझै पूर्व लागेर सुनसरी पकली नजीकको कान्छीचोकमा सडक निकाल्ने योजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए । उक्त आयोजना निर्माणका लागि हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ । राजमार्ग निर्माणको सरकारी नीतिअनुरूप उक्त सडक पनि चार लेनकै बनाइने भएको छ । तीन किमी पुलसहितको करीब ४४ किमीको उक्त सडक निर्माणका लागि करीब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको सडक विभागको एशियाली विकास बैंक अन्तर्गतका आयोजना हेर्ने निर्देशनालयका प्रमुख दीपक श्रेष्ठले बताए । ‘डीपीआर तयार हुनै बाँकी रहेका कारण अहिल्यै यति नै लाग्छ भन्न सकिने अवस्था छैन,’ श्रेष्ठले भने, ‘एकदमै प्रारम्भिक अवस्थाको अनुमानित लागत भन्नुपर्दा २० अर्ब रुपैयाँ जतिमा सकिन्छ कि भन्ने छ ।’ यसअघि उक्त आयोजना अन्तर्गत सप्तकोशीमा चार किमी पुल निर्माण गर्ने योजना थियो । कोशीटप्पु वन्यजन्तु आरक्षकै उत्तरी सिमानामा पर्नेगरी पुल बनाउँदा सप्तकोशी केही साँघुरिएको ठाउँ भएकाले लागत पनि कम गर्न सकिने सम्भावना देखिएको छ । प्रस्तावित पुलको डीपीआर निर्माणको काम पनि एशियाली विकास बैंकको सहयोगमा भइरहेको छ । सडक विभाग स्रोतका अनुसार नेपाल सरकारले सो पुल निर्माणका लागि एडीबीसँग छलफल अगाडि बढाएको छ । चालू आर्थिक वर्ष (आव) २०७६/७७ भित्रै निर्माण प्रक्रिया अगाडि बढाउने सरकारको योजना रहेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । ‘हाल डीपीआर निर्माणको काम चलिरहेको छ,’ सापकोटाले भने, ‘यो काम सकेर यसै आवको अन्त्य अर्थात् २०७७ असारभित्रमा बोलपत्र आ≈वान गरी निर्माणको ठेक्का लगाइसक्नुपर्ने कार्ययोजना छ ।’ हालसम्म नेपालमा बनेको सबैभन्दा लामो पुल बर्दिया–कोठियाघाट (१ किमी) हो । उक्त पुल नेपाली निर्माण कम्पनीले नै बनाएको हो । त्यसभन्दा ३ गुणा लामो र आधुनिक डिजाइनमा निर्माण गर्ने भनिएको सप्तकोशी पुलका लागि भने अन्तरराष्ट्रिय रूपमै ठेक्का खोलिने सडक विभागका एक उच्च अधिकारीले बताए । ठूलो लागतको परियोजना भएका कारण पनि अन्तरराष्ट्रिय स्तरको टेण्डर आ≈वान गरिने भएको हो । आयोजना अन्तर्गत सप्तकोशीको पश्चिम भाग आरक्षको क्षेत्रमा परेका कारण मुआब्जाको समस्या नरहेको सडक विभागको आयोजना निर्देशनालय प्रमुख श्रेष्ठले बताए । सप्तकोशीको पूर्वतर्फ भने ठाउँठाउँमा बस्ती र निजी जग्गा हुँदै राजमार्ग भेट्न पुग्नुपर्ने भएकाले मुआब्जा दिनुपर्ने उनले बताए । पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण हुने यस सडकलाई पनि सरकारले राष्ट्रिय राजमार्गकै मान्यता दिने भएको छ । यो आयोजना सम्पन्न भएपछि कुनै पनि समयमा कोशी ब्यारेजबाट आवतजावत बन्द भए पनि झापादेखि कञ्चनपुरसम्मको आवागमन प्रभावित हुने छैन । साथै, नेपाली भूमि र नेपालको लगानीमा बन्ने पुल भएका कारण यसको पूर्णाधिकार नेपालकै हुनेछ । हाल कोशी ब्यारेज भारतीय पक्षको नियन्त्रणमा रहेको मानिन्छ । २०६५ भदौ २ मा को शी ब्यारेजको पूर्वी तटबन्ध भत्किनाले सुनसरीका धेरै क्षेत्रमा ठूलो क्षति पुगेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले त्यही बेला ब्यारेज हुँदै जाने बाटोको वैकल्पिक सडक बनाउने निर्णय गरेको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.