वीरगञ्ज । सरकारले ल्याएको उद्योग व्यवसायको क्रेडिट रेटिङको व्यवस्थाको पारदर्शितामा सरोकारवाला पक्षले आशंका व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट ५० करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गर्दा त्यस्ता कम्पनीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
यसको आवश्यकता र उपादेयताबारेमा बुधवार वीरगञ्जमा आयोजित अन्तरक्रियामा उद्योगीहरूले उद्योग व्यापारमा छाएको मन्दी र केन्द्रीय बैंकले लागू गरेको चालूपूँजी कर्जाको सीमाका कारण व्यवसाय खुम्चिएको अहिलेको अवस्थामा गरिएको क्रेडिट रेटिङको औचित्यमा प्रश्न उठाए ।
मन्दीका कारण उद्योग व्यापारको कारोबार प्रभावित भएको अवस्थामा क्रेडिट रेटिङको मापदण्ड व्यावहारिक नभएमा त्यसले वास्तविकतालाई नसमेट्ने भन्दै त्यसलाई व्यावहारिक बनाउनुपर्ने उद्योगी रमेश अग्रवालले बताए ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ नेपालले आयोजना गरेको कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले भारतीय कर नीतिलाई हेरेर निकासीमूलक उद्योग चल्ने गरेको भन्दै यस्तो अवस्थामा गरिएको रेटिङको विश्वसनीयतामा आशंका व्यक्त गरे ।
केन्द्रीय बैंकले यसलाई अनिवार्य गरेकै कारण ऋण लिन र नवीकरणको प्रक्रिया पूरा गर्न रेटिङ गर्ने हो भने यसको औचित्य नहुने भन्दै अग्रवालले यसबाट फाइदा लिन राज्यको नीतिमा पारदर्शिताको आवश्यक रहेको बताए ।
‘जुन देशको भन्सारले वास्तविक कारोबारलाई मान्यता दिँदैन । आयातकर्ताले पेश गरेको बीलबिजकलाई नपत्याएर सूचना मूल्यको सहारा लिइन्छ । यस्तोमा क्रेडिट रेटिङलाई कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।
संघका उपाध्यक्ष माधव राजपालले अहिले राष्ट्र बैंकले चालूपूँजी कर्जामा लगाएको सीमा र यसले उद्यम, व्यापार र बजारमा पारेको प्रतिकूल प्रभावले रेटिङमा वास्तविकता प्रतिविम्बित नहुने दाबी गरे ।
इन्फोमेरिक्स रेटिङका प्रमुख कार्यकारी अधिकृत रविन पुडासैनीले उद्योग व्यवसाय र वित्तीय क्षेत्रको दीर्घकालीन जोखिम व्यवस्थापन र विस्तारका लागि क्रेडिट रेटिङ अनिवार्य भएको दाबी गरे ।