दाङ । घोराही, उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हाल मौरीपालनमा व्यस्त छन्। लामो समय विदेशमा काम गरेपछि १६ वर्षअघि उनले व्यावसायिक रूपमा मौरीपालन शुरू गरेका हुन्।
हाल उनका फार्ममा १५० मौरीका घार छन्। उनले वार्षिक सात टन मह उत्पादन गर्दै आकर्षक आम्दानी गरिरहेका छन्। घर्तीले आफ्नो उत्पादन घरमै बिक्री गर्दै, वार्षिक १६ लाख रुपैयाँको कारोबार गर्दै आएका छन्, जसबाट सात लाख रुपैयाँ बचत हुने गरेको बताउँछन्। उनले एक किलो महको मूल्य ५ सय रुपैयाँ रहेको जानकारी दिए।
घर्तीले वर्षा र जाडो मौसममा विशेष ध्यान दिएर मौरीपालनबाट राम्रो प्रतिफल पाउन सकिने र उत्पादनसँगै घारको संख्या पनि बढाउँदै लगेको बताए। गुणस्तरीय मह उत्पादनका कारण अधिकांश मह घरबाटै बिक्री हुने गरेको छ।
मौरीपालन व्यवसाय शुरू गरेपछि अन्य कुनै आयस्रोत खोज्न नपरेको बताउने घर्तीले वृद्धावस्थामा अन्य पेसा गर्न कठिन भएपछि यो व्यवसाय सहज भएको अनुभव गरेका छन्। उनले यो व्यवसायमा सफलता पाउन अध्ययनशील हुनुपर्ने बताउँदै, मौरी चरनका लागि घोराहीको माथिल्लो भेगमा लैजाने गरेको बताए।