काठमाडौं । बुधवार (आज) अधिकांश विकास बैंकहरूको शेयर मूल्य उच्चदरले वृद्धि भएको छ । यस समूहको समूहगत सूचक आज सबैभन्दा बढी ३ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ । अर्थात् यस समूहका कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन् ।
लगानीकर्ताको रोजाइमा परे पनि यस समूहका सबै कम्पनी नाफामा भने छैनन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १६ विकास बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार पाँच बैंक घाटामा छन् भने ११ बैंक मात्रै नाफामा छन् ।
पहिलो त्रैमासमा नोक्सानी व्यहोर्ने विकास बैंकहरूमा नारायणी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् ।
यो अवधिमा नारायणी डेभलपमेन्ट बैंकले रू. ४८ लाख ५० हजार नोक्सानी व्यहोरेको छ । गत आवको पहिलो त्रैमासमा बैंक रू. १ करोड २१ लाख घाटामा थियो ।
यस कम्पनीको शेयर मूल्य धितोपत्रको दोस्रोमा बजारमा प्रतिकित्ता रू. १ हजार ११६ पुगेको छ । पहिलो त्रैमासमा यस बैंकको निष्क्रिय कर्जा ३४ दशमलव ८१ प्रतिशत छ ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक रू. १ करोड ५६ लाख, एक्सेल डेभलपमेन्ट बैंक रू. १२ करोड ३० लाख र सप्तकोशी डेभलपमेन्ट बैंक रू. ८ करोड ७७ लाख नोक्सानीमा छन् ।
धितोपत्रको दोस्रो बजारमा भने यिनै कम्पनीहरूको शेयर मूल्य उच्च छ । यी कम्पनीहरूको खराब कर्जा पनि उच्च छ ।
खराब कर्जा उच्च भएको कम्पनीहरूको किन शेयर मूल्य उच्च भयो ? जानकारहरू भन्छन्– यसको एक कारण बैंकहरूको शेयर संख्या कम हुनु हो ।
अधिकांश विकास बैंकहरूको शेयर संख्या न्यून छ । जसका कारण बजारमा शेयर आपूर्ति कम भएकाले लगानीकर्ताको रोजाइमा परेको एक ब्रोकरले बताए ।
सूचीकृत विकास बैंकमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी छ । उक्त बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २२१ छ ।
यस कम्पनीले पहिलो त्रैमासमा रू. २१ लाख ६८ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यस बैंकको नाफा ४४ दशमलव ८३ प्रतिशत कम हो । सो अवधिमा बैंकले रू. ३९ लाख ३० हजार नाफा कमाएको थियो ।
पहिलो त्रैमासमा १६ बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । यस बैंकले पहिलो त्रैमासमा रू. २८ करोड १८ लाख नाफा कमाएको छ । सो अवधिमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । यस बैंकले रू. २३ करोड ९३ लाख नाफा कमाएको छ ।
पहिलो त्रैमासमा निष्क्रिय कर्जा (खराब कर्जा) सबैभन्दा बढी हुने विकास बैंक हो, नारायणी डेभलपमेन्ट बैंक । यो बैंकको निष्क्रिय कर्जा ३४ दशमलव ८१ प्रतिशत छ । निष्क्रिय कर्जा सबैभन्दा कम हुनेमा मितेरी डेभलपमेन्ट बैंक छ, यो बैंकको निष्क्रिय कर्जा १ दशमलव ८ प्रतिशत छ ।
कम्पनीको नाम | खुद नाफा/नोक्सान रू. हजारमा | घटबढ प्रतिशत | निष्क्रिय कर्जा प्रतिशतमा | पछिल्लो शेयर मूल्य रू. | |
चालू आवको पहिलो त्रैमास | गत आवको पहिलो त्रैमास | ||||
मुक्तिनाथ विकास बैंक | 281,819 | 228,807 | 23.17 | 3.16 | 410.5 |
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | 239,363 | 191,654 | 24.89 | 3.5 | 482.5 |
गरिमा विकास बैंक | 225,743 | 201,554 | 12 | 3.82 | 458.9 |
लुम्बिनी विकास बैंक | 201,985 | 173,280 | 16.57 | 3.69 | 511 |
कामना सेवा विकास बैंक | 174,979 | 119,521 | 46.4 | 3.96 | 477 |
ज्योति विकास बैंक | 151,190 | 50,802 | 197.61 | 4.98 | 388 |
महालक्ष्मी विकास बैंक | 94,289 | 95,378 | -1.14 | 4.9 | 426.9 |
सांग्रिला डेभलपमेन्ट बैंक | 60,179 | 46,591 | 29.16 | 4.65 | 460 |
सिन्धु विकास बैंक | 23,058 | 1,929 | 1095.33 | 11.29 | 862.4 |
मितेरी डेभलपमेन्ट बैंक | 7,361 | 17,545 | -58.05 | 1.8 | 703.8 |
कर्पोरेट डेभलपमेन्ट बैंक | 2,168 | 3,930 | -44.83 | 4.95 | 1221 |
नारायणी डेभलपमेन्ट बैंक | -4,850 | -12,159 | - | 34.81 | 1116 |
ग्रीन डेभलपमेन्ट बैंक | -15,672 | 7,619 | - | 4.73 | 962.1 |
कर्णाली डेभलपमेन्ट बैंक | -19,829 | 40,861 | - | 7.27 | 784.1 |
सप्तकोशी डेभलपमेन्ट बैंक | -87,784 | -119,219 | - | 14.77 | 849.3 |
एक्सेल डेभलपमेन्ट बैंक | -123,016 | -139,026 | - | 11.73 | 669 |
स्रोत : सम्बन्धित कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण र नेप्से ।