काठमाडौं । दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुबै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मङ्सिर ९ गते, आइतवार बुकक्लोज गर्दैछन । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
ग्लोबल आइएमई बैंकले मङ्सिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडले मङ्सिर १९ गते, बुधवार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा आयोजना गरेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ ।