काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटकको भन्दा विदेश घुम्न जाने नेपालीको खर्च धेरै हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महीनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार यो अवधिमा विदेश घुम्न जाने नेपालीले २२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए । समीक्षा अवधिमा नेपाल आउने विदेशी पर्यटकले भने १६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी मात्रै खर्चिएको देखिएको छ ।
यस्तो प्रवृत्ति यो आर्थिक वर्षमा मात्रै देखिएको होइन, अघिल्ला आर्थिक वर्षमा पनि देखिएको छ ।
गत आर्थिक वर्ष (०८०/८१)को सोही अवधिमा विदेश घुम्न जाने नेपालीले १७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खर्चिएका थिए । सो अवधिमा नेपाल आउने पर्यटकले १४ अर्ब ७५ करोड रुपैयाँ मात्रै खर्चिएको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्ष (०७९/८०)को सोही अवधिमा विदेश घुम्न गएका नेपालीले ११ अर्ब रुपैयाँ सिध्याएका थिए । सो अवधिमा नेपाल आउने पर्यटकले भने १० अर्ब ४९ करोड रुपैयाँ खर्चिएका थिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट पछिल्लो समय मनोरञ्जनका लागि मात्रै नभएर अन्य प्रयोजनका लागि विदेश जाने गरेकाले नेपालीको खर्च बढेको बताउँछन् ।
पछिल्ला वर्षहरूमा नेपालीहरू यो सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले पनि देखाउँछ । सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–नोभेम्बरमा नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको देखिएको हो ।
अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार विगत ५ वर्षको तथ्यांक हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीको संख्या सबैभन्दा बढी छ ।
विभागको तथ्यांकअनुसार सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ । यो संख्या यूएई, थाइल्यान्ड, सिंगापुर, इन्डोनेशिया र युरोपका ४ देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो ।
विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको संख्या छ । यूएई जानेको संख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५२५ रहेको छ ।
विभागका एक अधिकारीले भने, ‘विभागबाट घुम्न जाने भनेरै यूएई (दुबई) जाने गरेको भए पनि सबै घुम्ने प्रयोजनका लागि मात्रै त्यहाँ जाने सम्भावना हुँदैन ।’
सम्बद्ध ट्राभल व्यवसायी पनि यस्तै धारणा राख्छन् । होलिडेज् टु नेपाल प्रालिका आउटबाउन्ड टुर म्यानेजर दीपक पौडेल पनि कतिपय घुमफिरकै लागि, कतिपय आफ्नो प्रोफाइल बलियो बनाउन र कतिपय त पर्यटक भिसामा जाने र त्यही काम गर्ने वा त्यहाँबाट कुनै अन्य गन्तव्यमा वर्किङ भिसाको उद्देश्य राखेर त्यहाँ जाने गरेको बताउँछन् ।
‘कुनै देश भ्रमणका लागि जाने भनेर परिवार मिलेर आएमा गन्तव्यका लागि योजना बनाइदिने गरेका छौं,’ पौडेलले भने, ‘लागत कम पर्ने गन्तव्य थाइल्यान्डका लागि बढी माग हुने र नेपालीहरू त्यहाँ बढी जाने गरेका छन् ।’
यसो त नेपाल आउने विदेशीको संख्या पनि बढिरहेको छ ।