काठमाडौं । असोजमा आएको विनाशकारी बाढीपहिरोबाट धेरै जलविद्युत् आयोजना प्रभावित भएपछि यसको असर नेपालको विद्युत् निर्यातमा देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ४ महीनामा नेपाल विद्युत् प्राधिकरणले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । गत आवको सोही अवधिमा प्राधिकरणले १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो ।
बाढीपहिरोका कारण चालू आवमा ३० अर्ब रुपैयाँको विद्युत् भारतलाई बेच्ने लक्ष्य पनि प्राप्त नहुने स्थिति रहेको प्राधिकरणले बताएको छ । ‘सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको संरचनामा पहिरोले क्षति पुर्याउँदा अहिले त्यहाँको विद्युत् उत्पादन बन्द छ । अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यसैले चालू आवमा राखिएको करीब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’
उनका अनुसार काबेली कोरिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करीब २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । त्यसैले असोज र कात्तिकको विद्युत् निर्यातसमेत प्रभावित भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनअनुसार उक्त बाढीपहिरोबाट ४६ अर्ब ६८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जलविद्युत् क्षेत्रमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
गत आवमा नेपालले १७ अर्ब ६ करोड रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणका अनुसार यतिबेला माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली कोरिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागमात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमश: घट्दै जानेछ । हिउँदका केही महीनामा विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।
गत आवमा नेपालले भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचेको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् विक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा विक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात शुरू भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारू)मा हुने गरेको छ । विद्युत् प्राधिकरणले भारतमा बिजुली विक्री गर्दा भारू आम्दानी हुन्छ । चार महीनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।
साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा रहेको विद्युत् प्राधिकरणको भनाइ छ । भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत्को औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो ।
असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको विद्युत् निर्यात भएको तथ्यांक छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएको हो । असोजको औसत दर प्रतियुनिट ८ रुपैयाँ ८ पैसा रहेको छ ।
कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात भएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो । कात्तिकको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा रहेको विद्युत् प्राधिकरणले बताएको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् विक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ ओटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् विक्री गर्न स्वीकृति पाएको छ ।