अत्तरिया (कैलाली) । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् ।
उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन । चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँच ओटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन् । पाँच ओटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महीनामा छ लाख बचत हुने उनले बताए । उनले भने, 'हिउँदका छ महीना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ ।'
'बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन,' उनले भने, 'प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।' च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उहाँ बताउँछन् । उनले भने, 'यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।' च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले सुनाए ।
यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि व्यावसायिक रूपमा च्याउखेती गरेकी छन् । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनले बताए । उनले भने, 'च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।' च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ । च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक रु एक लाख बचत गर्दै आएको बताइन्।