काठमाडौं । चार लघुबीमा कम्पनीहरूले कुल रू. ९० करोड बराबरको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
चारओटै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट प्रारम्भिक अनुमति लिइ सेबोनमा निवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति पाएपछि यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।
सबै कम्पनीले २२ करोड ५० लाख रुपैयाँ अर्थात् २२ लाख ५० हजार कित्ताका दरले आईपीओ निष्कासन गर्नेछन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको न्यूनतम चुक्तापूँजी ७५ करोड निर्धारण गरेको छ । कम्पनी स्थापना गर्दै संस्थापकहरूसँग ५२ करोड ५० लाख रुपैयाँ संकलन गरिसकेका कम्पनीहरूले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेर पूँजी पुर्याउनेछन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विक्री प्रबन्धकमा कुमारी क्यापिटल छ भने क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनीको विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।