काठमाडौं । ८ कारोबार दिनपछि नेप्से २७ सय विन्दुमुनि झरेको छ । बिहीवार (आज) नेप्से परिसूचक १ दशमलव १५ प्रतिशत घटेर २ हजार ६८० दशमलव ४४ विन्दुमा झरेको हो । यसअघि गत कात्तिक २१ गते नेप्से २ हजार ६७५ दशमलव ५१ विन्दुमा बन्द भएको थियो ।
आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब ९ करोड बराबरको कारोबार भएकोमा आज रू. ८ अर्ब २५ करोडभन्दा बढीको भएको हो । बजार घट्न थालेसँगै विक्रेता हाबी हुने भएकाले पनि बजार प्रभावित भएको देखियो ।
पछिल्लो ९ कारोबारको ट्रेण्ड हेर्दा नेप्सेले २८ सय विन्दुतिर जान पटकपटक प्रयास गरेको देखिन्छ । अब थप शक्ति सञ्चय गरेर मात्र बजार माथितिर जान सक्ने प्राविधिक विश्लेषक बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव १५ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १७ प्रतिशत घटेको छ ।
३१४ धितोपत्रको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर ८४ हजार ८५८ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सामुदायिक लघुवित्तको शेयर मूल्य रू. १ हजार ६५१ दशमलव १० र थ्री स्टार हाइड्रोपावरको रू. ९७३ दशमलव ५० पुगेको छ ।
बिहीवार जानकी फाइनान्सको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९६५ दशमलव १० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ दशमलव २६ प्रतिशत घटेर रू. १ हजार ३५ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. २५ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४७९ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा ङादी ग्रुप पावर छ । यस कम्पनीको रू. २३ करोड ३३ लाख बराबरको भएको हो ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ८६ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहको सूचक १ दशमलव ७३ प्रतिशत, अन्य समूहको १ दशमलव ६७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ५४ प्रतिशत घटेको छ ।