काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीको सोमवार बसेको छैटौं साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए ।
९० करोड अधिकृत पूँजी र ५३ करोड जारी पूँजी रहेको यस होटलको चुक्तापूँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आइपीओ निष्कासनको प्रक्रियामा जाने तयारी भएको कम्पनीका अध्यक्ष थापाको भनाइ छ ।
काठमाडौंको बुढानीलकण्ठ–६ गणेश चोकमा रहेको यस होटलले आफ्नो क्षमता विस्तार गर्दै पाँचतारे स्तरमा स्तरोन्नति गर्न आईपीओ आवश्यक भएको जनाएको छ ।
साथै कम्पनीमाथि भएको केही कर्जा चुक्ता गर्नेलगायत लक्ष्य राखिएको अध्यक्ष थापाले बताए । अपार्टमेन्टसहित ६० ओटा कोठामा सेवा सञ्चालन गर्दै आएको यस होटलले अब कोठा समेत थप गर्नेछ ।
होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डटकमले २०२१ मा ‘नेपालको सर्वोत्कृष्ट होटल’को उपाधिले सम्मानित गरेको थियो । हाल होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ ।