काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी करिअर फेस्ट– २०२४’ सम्पन्न भएको छ । ‘ग्रोथ सेलर्स’सँगको सहकार्यमा थापाथलीस्थित कलेज परिसरमा गत सोमवार शुरु भएको करिअर फेस्ट मंगलवार सम्पन्न भएको हो ।
कलेजका विद्यार्थीहरूसँगै स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले उक्त फेस्ट आयोजना गरिएको द ब्रिटिस कलेजले जनाएको छ । उक्त फेस्टमा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो ।
सहभागी कम्पनीहरूले १ हजार ७०० भन्दा बढी विद्यार्थीसँग ‘जब इन्टरभ्यू’ लिएका थिए ।
कार्यक्रममा ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्र राज कँडेलले स्वागत मन्तव्य दिएका थिए । त्यसपछि प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूलाई विभिन्न सेसनहरूमार्फत व्यावहारिक जानकारीसमेत प्रदान गरेका थिए ।
यसैक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणा राखेका थिए । आईएमई ग्रुपका निर्देशक निशान ढकालले भने करियर निर्माणको लागि व्यावहारिक सुझावहरू प्रदान गरे ।
कार्यक्रमको दोस्रो दिन प्लान इन्टरनेशनल नेपालको एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवद्र्धन गर्ने’ शीर्षकमा आफ्ना भनाइ राखेकी थिइन् । उनले रोजगारीको क्षेत्रमा रहेका समस्या उजागर गर्दै समाधानका उपाय समेत प्रस्तुत गरेकी थिइन् ।
‘नेपालमा भविष्यको रोजगार र एआईले रोजगारी ट्रेण्डलाई कसरी पुनःआकार दिँदैछ’ विषयको प्यानल छलफलमा ग्लोबल आईएमई बैंकका उप–कार्यकारी निर्देशक सुमन पोखरेल, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर प्रशान्त पोखरेल र लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजीत शाह सहभागी भएका थिए ।
ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याक्रुडेनले प्रविधिको सदुपयोग गरेर नेपालमा नै अवसर सिर्जना गर्नुपर्ने कुरामा जोड दिए । उनले एआईले मानिसको काम नखोसेको बरु एआईको प्रयोगबाट उत्पादन क्षमता बढाउन सकिने धारणा राखे ।
‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उनको भनाइ छ । प्यानल डिस्कसनको सञ्चालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गरेकी थिइन् ।
सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको खुलेर प्रशंसा गरेका छन् । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापित गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरूको प्रतिक्रिया छ ।
स्थानीय अवसरहरूको प्रवर्द्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान लगायतका लागि फेस्ट महत्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ ।