काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विजयी शुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सोमवार (आज) भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्याे ।
११२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको चितवनले १७.१ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्याे ।
टिमका लागि सर्वाधिक रन जोडेका सन्तोष कार्की २८ रनमा अविजित रहे । यस्तै, शरद भेषवाकरले अविजित रहँदै ११ रन बनाए । यस्तै, लुक बेनकेन्सटाइनले २२ रन बनाउँदा कप्तान कुशल मल्लले ११ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौंका साहब आलमले ३ विकेट लिए भने अन्य दुई खेलाडीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो । चितवनबाट खेलिरहेका पाकिस्तानी खेलाडी शोहिल तनबिरले ५ विकेट लिएपछि काठमाडौं सामान्य स्कोरमा समेटिएको थियो । खेलको प्लेअर अफ दि म्याच पनि तनबिर नै घोषित भए ।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । यस्तै, माइकल लेभिटले २५ रनको योगदान दिए । डन डचवेट भने १९ रनमा अविजित रहे ।
यो प्रतियोगिताको दोस्रो खेल हो । प्रतियोगिताको तेस्रो खेलमा आजै कर्णाली याक्स र जनकपुर बोल्ड प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल आज अपराह्न १ः१५ मा शुरु हुँदैछ ।