काठमाडौं। विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले उक्त रकमको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकि नो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो ।
नेपालका लागि जापानका राजदूत डा. दुर्गाबहादुर सुवेदी, आइएमई लिमिटेडका शुसिल थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमिलालाई चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि प्रमिलाले खुशी साट्दै प्राप्त भएको रकमबाट कैलालीमा रहेका बाआमालाई घर बनाइदिने योजना बनाएको बताइन् ।
आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आइएमई गरी रकम पठाउने सेवाग्राही मध्ये एक जनाले १ करोड रुपैयाँ जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महीना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिट्यान्समार्फत पठाउन र रेमिट्यान्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष आइएमईले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।
आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले डिजिटल माध्यम आइएमई पेमार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्न ल्याइएको करोडपति अभियानमा धेरै सेवाग्राहीको सहभागिताले आफूहरू उत्साहित भएको बताए ।