काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्डसामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको पहिलो इनिङमा कर्णालीले ७ विकेट गुमाएर १४१ रन बनायो ।
पहिलो इनिङको अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै ४३ रन जोडेपछि कर्णालीले उक्त स्कोर बनाउन सफल भएको हो । खेलको १९ औं ओभरमा अर्जुनले २२ रन जोडे भने २० औं ओभरमा सोमपालले २१ रनको योगदान दिए ।
अर्जुनले समग्रमा ३३ रन र सोमपालले २९ रन बनाए । टिमका लागि सर्वाधिक रन भने गुल्झन झाले बनाए । उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
कर्णालीबाट खेलिरहेका भारतका शिखर धवन भने सस्तैमा आउट भए । उनले १४ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए ।
बलिङतर्फ जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । यस्तै, ललित राजवंशी, किशोर महतो, जेम्स निशम र हर्ष ठाकेरको नाममा १–१ विकेट रह्यो ।
जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । जारी प्रतियोगितामा जनकपुरले दोस्रो खेल खेलिरहेको छ भने कर्णाली पहिलो खेल खेल्दैछ ।
आजको खेलमा जनकपुर लगातार दोस्रो जित हासिल गर्ने दाउमा छ भने कर्णाली प्रतियोगितामा विजयी शुरुआत गर्ने लक्ष्यमा छ ।
जनकपुरले यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
आज भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।