काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) नेप्से परिसूचक १७ दशमलव ८० अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।
केही दिनको बजारलाई समग्रमा हेर्दा २७ सयको लाइन क्रस गरेर माथितिर जान सकेको छैन । 'इन्ट्रा-डे'मा नेप्से २७८० माथि गए पनि क्लोजिङमा सधैं तल झर्ने गरेको छ ।
मंगलवार पनि 'इन्ट्रा-डे'मा बजार पटक पटक उक्त विन्दुमा पुग्दै तल झरेको थियो । धेरैपटक यो विन्दुमा पुगेर फर्किएकाले बजार २७८० विन्दुमाथि पुगेपछि विक्रेता हाबी भएको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १२ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव २० प्रतिशत बढेको हो ।
आज ३०७ धितोपत्रको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर ८८ हजार ७७५ पटकमा रू. ८ अर्ब ५२ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य सर्किट लेबलमा वृद्धि भएको छ । दिब्यश्वरी हाइड्रोपावर, ईङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको हो ।
मंगलवार सबैभन्दा बढी अप्पर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ५१ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९० मा झरेको छ । अप्पर स्याङ्गेपछि सर्वाधिक शेयर मूल्य घट्ने कम्पनी जानकी फाइनान्स हो । यस कम्पनीको शेयर मूल्य ६ दशमलव १८ प्रतिशत घटेर रू. ८९० कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा ङादी ग्रुप पावरले ओगटेको छ । यस कम्पनीको रू. २६ करोड ७४ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३१४ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको जानकी फाइनान्सको रू. २६ करोड ५१ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये सात समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ५ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७१ प्रतिशत घटेको छ ।