काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको लाभांश आज (कात्तिक ६ गते)सम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् ।
कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २५ गते वार्षिक साधारण सभा गर्दैछ । उक्त साधारण सभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बुक क्लोज गर्न लागेकाले कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य भएका हुन् ।
यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।
कम्पनीले बुक क्लोजको मिति तय गरेको आधारमा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० प्रतिशत बोनस शेयरपछिको मूल्य तोकेको छ ।
आजसम्म कायम कम्पनीको अन्तिम शेयर मूल्य १ हजार ४३९ रुपैयाँ ९० पैसाको आधारमा मूल्य समायोजन गरी बोनस शेयरपछिको मूल्य १ हजार ३०९ रुपैयाँ तोकिएको हो ।
कम्पनीको बोनस शेयर मूल्य समायोजनपछिको मूल्यका आधारमा बुधवार शेयर कारोबार खुला हुनेछ ।