काठमाडौं । नबिल बैंकबाट सुन धितोमा एक घण्टाभित्रै ऋण लिन सकिने भएको छ । बैंकले शुरू गरेको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना अन्तर्गत ग्राहकले कुनै झन्झटविना एक घण्टाभित्र ऋण पाउने गरी सेवा प्रदान गरिएको बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन् ।
‘बैंकको गोल्ड लोन प्रदान गर्न तोकिएका शाखाहरूमा सुन जाँचकीलगायतको व्यवस्था गरिएको छ,’ श्रेष्ठले भनिन्, ‘ग्राहकले आफूसँग भएको सुन राखेर एक घण्टाभित्र ऋण पाउनुहुन्छ ।’ बैंकमा खाता नभएका ग्राहकले भने खाता खोल्नुपर्ने भएकाले थप समय लाग्ने उनले बताइन् ।
बैंकले यस योजनाअन्तर्गत ग्राहकले आफूसँग भएको ढिक्का सुन वा गहना धितो राखेर ऋण लिन पाउँछन् । बजार मूल्यको ७० प्रतिशतसम्म ऋण पाइने यस योजनामा ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था छ ।
बैंकले आधारदरमा तीन प्रतिशत प्रिमियम थप गरी ब्याजदर तोकेको छ । बैंकको हाल कायम आधारदरका आधारमा ब्याजदर वार्षिक १० प्रतिशतको हाराहारीमा छ । आधारदर घटबढका आधारमा ब्याजदर पनि तलमाथि हुनेछ ।
बैंकले हाल काठमाडौं उपत्यकाभित्रका कुमारीपाटी, कालीमाटी, खिचापोखरी, मंगलबजार र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका धरानको महेन्द्रपथ, बुटवलको चौराहा, नेपालगञ्जको भानुभक्त चोक, पाँचथरको फिदिम र पोखराको चिप्लेढुंगा शाखाबाट सुन कर्जा उपलब्ध गराइरहेको छ । बैंकले यो सुविधा थप गरी १८ ओटा शाखामा विस्तार गर्न लागेको रिटेल लेन्डिङ प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
बैंकले कर्जा योजना शुरू गरेको छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि यसलाई थप विस्तार गर्न लागेको हो । योजना शुरू भएको तीन महीना अवधिमा बैंकको गोल्ड लोन दोब्बरले बढेर कुल कर्जा प्रवाह एक अर्ब रुपैयाँ नाघेको छ ।
नेपाली समाजमा सुन तथा चाँदीलाई मुख्य रूपमा गहनाको रूपमा प्रयोग गरिन्छ । अप्ठ्यारो पर्दा तुरुन्त रकममा परिवर्तन गर्न सकिने भएकाले यसलाई बचतको रूपमा समेत लिइन्छ । सर्वसाधारणले पैसा बचत हुँदा सुन किन्ने र वित्तीय आवश्यकता पूरा गर्न गाह्रो हुँदा त्यही धितो राखेर ऋण लिने गर्छन् ।
सुन नगद सरह मानिने र लगानी पनि सुरक्षित हुने भएकाले बैंकहरूले प्राथमिकता दिएर लगानी गर्दै आएका छन् । पहिले प्राय: सुन किनेको पसलमा धितो राखेर कर्जा लिने सर्वसाधारण विस्तारै बैंक तथा वित्तीय संस्थामा आकर्षित हुन थालेका छन् । बैंकले छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले पनि सर्वसाधारण बैंक, वित्तमा आकर्षित भएका हुन् । ऋण लिने प्रक्रिया सरल भएको र ब्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय हुँदै छ ।