काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा शून्य दशमलव ६२ प्रतिशत मात्र बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस वर्ष बैंकको सञ्चालन नाफामा भने करीब ९ प्रतिशतले गिरावट आएको छ । गत वर्ष १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यो वर्ष १ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ।
सञ्चालन नाफामा गिरावटको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा वृद्धि भएको हो । यस वर्ष बैंकले ३८ करोड ४१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जबकि गत वर्ष यो रकम ७ करोड ९४ लाख रुपैयाँ थियो ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यो नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो । बैंकको हालको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ भने जगेडा कोष १४ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ।
बैंकले ३ खर्ब ४ अर्ब ३ करोड ८९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब २२ अर्ब ७० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष ३.९७ प्रतिशतबाट बढेर यो वर्ष ४.९४ प्रतिशत पुगेको छ।
प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ।