काठमाडौं। नबिल बैंक लिमिटेड यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदातालाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेड बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रकातर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । शनिवार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिए ।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थासहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मानित गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो । ‘नबिल बैंक लिमिटेड नेपालको एक अग्रणी बैंक हो । यो बैंक जिम्मेवार संस्थाको रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको छ,’ सम्मानपछि बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको शुरुआत गर्न अग्रणी भूमिका खेलेको नबिलले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।’
नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।