काठमाडौं। नेपाल राष्ट्र बैंकले जलवायु प्रभाव न्यूनीकरण, अनुकूलन तथा प्रतिरोधका साथै दिगो अर्थतन्त्र निर्माणका लागि गरिने वित्तीय लगानीलाई प्रोत्साहन गर्न ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको छ । नीतिमा बैंकहरूले दिगो आर्थिक विकास सुनिश्चित गर्ने र जलवायु परिवर्तनका असर कम गर्ने, वातावरण संरक्षण गर्ने गरी कर्जा प्रवाह गर्न प्रोत्साहन गर्नुपर्ने व्यवस्था छ ।
विकास साझेदार वित्तीय संस्थाहरूले लामो समयदेखि आफ्नो लगानीमा जलवायु अनुकूलन हरित अर्थतन्त्र मापदण्ड लागू गर्दै आएका छन् । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ग्रीन फाइनान्स ट्याक्सोनोमीसम्बन्धी नीति बनाउने घोषणा गरेको थियो । सोहीअनुसार गत पुसमा मस्यौदा सार्वजनिक गरेको केन्द्रीय बैंकले सरोकारवालाको सुझावपछि सोमवारदेखि कार्यान्वयनमा ल्याएको हो ।
नीतिमा बैंकहरूले कर्जा प्रवाह गर्दा ग्रीन गतिविधिमा लगानी गर्नुपर्ने, एम्बर (पहेलो) गतिविधिमा सचेत भएर लगानी गर्नुपर्ने र रेड गतिविधिमा लगानी निरुत्साहित गर्नुपर्ने प्रावधान छ । यसमा शून्य कार्बन उत्सर्जन गर्ने उद्योग व्यवसायलाई ग्रीन, न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई एम्बर र बढी कार्बन उत्सर्जन गर्ने उद्योग व्यवसायलाई रेडमा वर्गीकरण गरेर लगानीको प्राथमिकता बनाउनुपर्ने व्यवस्था छ ।