शनै: पन्था: शनै कन्था शनै: पर्वतलङ्घनम् ।
शनैर्विद्या शनैर्वित्तं पञ्चैतानि शनै: शनै: ।
यो संसारको बाटो पार गर्नु छ भने बिस्तारै हिँड्नुपर्छ । पर्वत चढ्ने काम ढिला मात्र सम्भव हुन्छ । विद्या र धनलगायत ५ चीज आत्तिएर प्राप्त गर्न सकिँदैन । तर, सवारीसाधनले यात्रा, मेशिनबाट बुनाई, कुनै साधनबाट पर्वत चढ्न, क्याल्कुलेटरबाट हिसाब गर्न र कमिशन र भ्रष्टाचारबाट कमाउन पहिलेभन्दा छिटो भएको छ ।
शेयरबजारमा कुनै दिन अर्बौं रुपैयाँ बजार पूँजीकरण बढ्छ । कसैले १ करोड एकै दिनमा कमाउँछ भने त्यो अवस्था माथिको भनाइ मिल्दैन । एकै दिनमा १ करोड कमाउन लगानीकर्ताले वर्षौं तयारी गरेको हुन्छ, अनुभव सँगालेको हुन्छ, अध्ययन गरेको हुन्छ, वर्षौंको तयारीपछि १ करोड कमाइ भएको हो । तसर्थ माथिको श्लोक आज पनि सान्दर्भिक छ । जहाँसम्म भ्रष्टाचारको कुरा छ, पाप हो त्यो कमाइ होइन । अन्यथा श्लोक सत्य छ ।
२०८१ पुस २४ गते आरम्भ लघुवित्त वित्तीय संस्थाको शेयर शुरूमा लगभग ५०० जति घटेर ५४५३ मा झर्यो ३ बजे हेर्दा ७ दशमलव ४५ प्रतिशतले बढेर ६५१० मा बन्द भयो । त्यो कम्पनीको ६२३ कित्ता शेयरको कारोबार भएको छ । मानौ ‘क’ ले बिहान २०० कित्ता ५४५३ मा बेच्यो ‘ख’ले अपराह्नमा २०० कित्ता ६५१० मा बेच्यो भने क र ख को कमाइ २ लाख ११ हजार ४०० को फरक हुन्छ । यसरी हेर्दा शेयरबजारमा कसले कति कमाउँछ र गुमाउँछ भन्ने कुराको अनुमान गर्न सक्ने विद्वान् कोही होलान् जस्तो लाग्दैन । यस्तो अनुमानहीन घटना सधैं हुँदैन । बजार अनुमानित र हिसाब गर्न सकिने किसिमको हुन्छ त्यो दिन एक अपवाद हो ।
केही वर्षअगाडि एक जनाले रूृ १ हजार ४५० मा नबिल बैंकको शेयर किने र साथीलाई भने, ‘साथीले हत्तेरीका नकिन्नुपर्ने बजार घट्दै छ’ भनेर जवाफ दिए । त्यो दिनदेखि वाणिज्य बैंक प्राय: बढेनन् । अहिले नबिल ४९८ मा झरिसकेको छ । नबिल बैंकको शेयर एकै दिनमा ४९८ मा झरेको होइन, १ हजार ३५०, १ हजार २००, हुँदै झरेको हो । त्यति नै बेला बेचेको भए घाटा कम हुन्थ्यो होला । आरम्भ लघुवित्तकै कुरा गरौं । पहिलो दिन ६ हजार ०५८ बिकेको शेयर ५ हजार ४५३ मा आयो भनेर सबैले बेच्न थालेको भए ६ हजार ५१० को लाभ कसरी पाउनु ? त्यसैले शेयरबजारमा कमाउनका लागि या त पर्खिन सक्नुपर्यो या लक्ष्य निर्धारण गर्नुपर्यो । जे भने पनि कमाइ ढिला नै हुन्छ ।
घाटा खाएर महान् कोही बन्दैन, सबै नाफामा जाने भए शेयरबजार नै चल्दैन । घाटा नाफाको चक्र चल्छ । तर, प्राय: सबैले शेयरबजारबाट केही कमाएजस्तो महसूस हुन्छ ।
घाटा खाएर महान् कोही बन्दैन, सबै नाफामा जाने भए शेयरबजार नै चल्दैन । घाटा नाफाको चक्र चल्छ । तर, प्राय: सबैले शेयरबजारबाट केही कमाए जस्तो महसूस हुन्छ । त्यसको एक कारण मुद्राको क्रयशक्ति घट्दै जानु पनि हो अर्थात् टाइम भ्यालु अफ मनीको कारण लगानीकर्तालाई कमाएजस्तो हुन्छ । १० वर्षअगाडि हामीले जति लगानी गरेका हुन्छौं आजसम्ममा बोनस, लाभांश आदिबाट धेरै नै कमाए जस्तो लाग्छ । यो आत्मरतिले पनि मानिसलाई शेयरबजारमा टिकाइ राख्छ ।
दोस्रो आईपीओ मात्र खरीद गर्नेहरूको शेयर मूल्य लगानीभन्दा पक्कै बढी हुन्छ । उनीहरूले बेच्न र चलाखी गर्नुभन्दा आज कति बढ्यो भोलि कति भयो भनेर हेरेर नै मख्ख पर्ने अवस्था हुन्छ । आईपीओ मात्रै किन्ने र त्यसैमा रमाउने लगानीकर्ताले पनि शेयरबजार अति राम्रो लगानीको बिन्दु मान्छन् ।
नेपालका सबै वाणिज्य बैंकमा २० देखि २५ अर्बसम्म त्यस्तो रकम छ जुन कसैले खाता खोलेर राखेपछि लिन नै आएनन् । त्यस्तै अवस्था शेयरबजारमा पनि होला, लगानी गरे पछि बिर्सिए वा लगानीकर्ताको मृत्यु भयो । त्यो करणले पनि बजारमा पैसा रहिरहन्छ ।
एकथरी ग्राहक छन् उनीहरू जानकार छन्, बैक वित्तीय संस्था र सरकारी कार्यालयमा काम गर्छन्, डिजिटल बजारसँग अभ्यस्त छन् । उनीहरूलाई बजारको प्रवृत्ति लगभग थाहा छ । त्यो वर्गले कमाउँछ । अर्का शेयरका वास्तविक खेलाडी छन् जसले बजारलाई पम्पिङ र डम्पिङ गर्न सक्छन् । यसअन्तर्गत कुनै कम्पनीको ह्वारह्वार्ती मूल्य बढाइदिन्छन् । सोझा लगानीकर्ताले हतारहतार किन्न थाल्छन् । यो प्राय: कुनै न कुनै कम्पनीमा भइरहेको हुन्छ । त्यो चपेटामा कोही सामान्य लगानीकर्ता फस्यो भने उठ्नै नसक्ने गरी घाटामा पर्छ । त्यसैले नजान्ने मानिसले महँगा शेयर नकिन्दा हुन्छ ।
लगानी गर्नेले पनि कसरी ठीक ठाउँमा लगानी गर्ने भन्ने बारेमा राम्रो बुझेर अगाडि बढ्नुपर्छ । व्यापक घटेको बेलामा किन्ने र व्यापक बढेको बेलामा बेच्ने भन्ने सूत्र सबैलाई थाहा छ र हुन्छ ।
राष्ट्रिय बीमा कम्पनीको शेयर अहिले रू. १४ हजारको हाराहारीमा छ । त्यो कम्पनीको ५ कित्ता शेयर किन्ने पैसा सुझबुझपुर्ण तरिकाले लगानी गर्ने हो भने उस्तै परे १ वर्षपछि घरखर्च चलाउन सकिन्छ । २ वर्ष अगाडि ७५०० पर्ने हिमालयन डिस्टिलरीको शेयर आज १ हजार २०० तिर झरेको छ । उतिबेला रू. ७ हजार ५०० मा किन्नेले पनि कमाम्ला भनेर नै किनेको हो । १२०० मा झर्यो । त्यस्तो हुँदा पनि त्यो कम्पनीले मनग्गे बोनस शेयर कहिले १००, ७०, २५ र यो वर्ष १५ प्रतिशतका दरले दिएकाले यहाँ देखिएजति घाटा त हुँदैन तर मन आत्तिन काफी छ । बिस्तारै त्यो कम्पनीको शेयर घटेको छ भोलि बढ्ला । एउटा कम्पनिका शेयर घटे पनि बढे पनि चलाख र अनुभवी लगानीकर्ताले कमाउँछन् । जति चलाखी गरे पनि कुनै दिन पैसा गुमाउने अवस्था हुन्छ ।
१३ जनवरीको दिन भारतको शेयरबजार १००० तल झर्यो । एकै दिनमा मार्केट क्याप १४ लाख करोडले खस्कियो । यस्तो अवस्थामा कसले कमाउने कसले गुमाउने ? शेयरविज्ञहरूले यस्तो अवस्थाको अनुमान गर्न सक्ने कुरा भएन । नेपालमा पनि कसैले सधंै कमाउने र कसैले सधैं गुमाउने हुदैन र पनि राम्रोसँग अध्ययन गरेर बजारको प्रवृत्ति बुझेर लगानी गर्नेहरूले पक्कै पनि राम्रो कमाइ गर्छन् । जसरी क्रिकेटमा टप ब्याट्समेनहरू पनि आउट हुन्छन र सामान्य ब्याट्मेनले भन्दा सरदरमा बढी रन बनाउछन् त्यसरी नै शेयरबजारमा ब्याट्समेन र बलर पनि छन् । तर, सबैले दीपेन्द्र ऐरीले जस्तो गाडी नपाउलान् । तसर्थ बजारमा पनि अलराउन्डर बन्न सक्नुपर्छ ।
लगानी गर्नेले पनि कसरी ठीक ठाउँमा लगानी गर्ने भन्ने बारेमा राम्रो बुझेर अगाडि बढ्नुपर्छ । व्यापक घटेको बेलामा किन्ने र व्यापक बढेको बेलामा बेच्ने भन्ने सूत्र सबैलाई थाहा छ र हुन्छ । तर, त्यसभित्रका विभिन्न चरका बारेमा बुझेर लगानी गर्ने हो भने एकै दिनमा एउटा शेयरबाट १ हजार ०५७ पनि कमाउन सकिन्छ ।
लेखक कैलासकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।