काठमाडौं । यो साता दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५९ प्रतिशत (१५ दशमलव ५४ अंक)ले घटेर २ हजार ५९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।
आज २ बजेर ५६ मिनेटमा नेप्से परिसूचक सबैभन्दा तल्लो २ हजार ५८१ दशमलव १७ बिन्दुसम्म पुगेको थियो । तर, अन्तिम ४ मिनेटमा भएको कारोबारले परिसूचक २ हजार ५९४ दशमलव १३ को बिन्दुमा फर्किएको थियो ।
आज विभिन्न ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर ६४ हजार २७८ पटक खरीदविक्री हुँदा रू. ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । तीमध्ये व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव ८९ प्रतिशत घटेको छ । यस्तै, होटल तथा पर्यटनको १ दशमलव ३६ र वित्त समूहको १ दशमलव ३२ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।
आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।