काठमाडौं । नेपाल राष्ट्र बैंकले हरित लगानीसम्बन्धी निर्देशिका ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी-२०२४’ जारी गरेको छ ।
केन्द्रीय बैंकले सोमवार जारी गरेको निर्देशिकाले बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन र हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पालना गर्दै हरित ऋणपत्र, जलवायु जोखिम प्रतिवेदन र वित्तीय क्षेत्रका लागि पूँजीको आवश्यकतालाई सहज तुल्याउन स्वदेशी हरित वित्त प्रवाहलाई प्रोत्साहित गर्न निर्देशिका तयार गरेको हो ।
ट्याक्सोनोमी जारी गर्नुको प्रमुख उद्देश्य जलवायु परिवर्तन अनुकुलन, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रण, प्राकृतिक स्रोत तथा साधनको संरक्षण तथा व्यवस्थापन, प्रदूषण नियन्त्रण लगायत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
उक्त निर्देशिका बैंक तथा वित्तीय संस्थाहरू तथा पूर्वाधार विकास बैंकबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सकिने गरी जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ।
'इजाजतपत्रप्राप्त 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थाहरू तथा पूर्वाधार विकास बैंकबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सकिने गरी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी-२०२४’ जारी गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ,' सूचनामा भनिएको छ ।
उक्त मार्गदर्शनले वित्तीय क्षेत्रका प्रमुख नियामकहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई समेत ट्याक्सोनोमीभित्र समेटेको छ । निर्देशिकाअनुसार नियामक निकायहरूले मातहतका निकायलाई जलवायु परिवर्तन अनुकुलन, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रण, प्राकृतिक स्रोत तथा साधनको संरक्षण तथा व्यवस्थापन र प्रदूषण नियन्त्रण लगायतलाई केन्द्रमा राखेर नियमन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सम्बन्धित निकाय तथा संस्थाले सोहीअनुसार कार्य सम्पादन गरी नियामकलाई नियमितरूपमा जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरेको छ ।
साथै निर्देशिकामा कृषि र वन, ऊर्जा र जलश्रोत, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापन लगायत क्षेत्रहरूलाई लक्षित क्षेत्र बनाइएको छ । कर्जा लगानी गर्दा ट्याक्सोनीमीले कृषि तथा खाद्य सुरक्षाका लागि स्मार्ट वाटर, स्मार्ट ऊर्जा, स्मार्ट पोषण, स्मार्ट माटो, संरक्षणमा आधारित खेती प्रणाली र बीउबिजन, सिँचाइ, वातावरणमैत्री भएका परियोजनालाई प्राथमिकतामा राख्नुपर्ने गरि तयार पारिएको छ ।
हेर्नुहोस् निर्देशिका