काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार (आज) पनि नेप्से परिसूचक २ दशमलव १४ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६३९ दशमलव ९२ विन्दुमा झरेको हो । आइतवार नेप्से १ दशलमव ७२ प्रतिशत घटेको थियो । यस आधारमा दुई दिनमा नेप्से ३ दशमलव ८६ प्रतिशत घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब १८ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ९० करोडमा झरेको हो ।
शेयर बजारलाई स-साना हल्लाले प्रभावित पारेको देखिन्छ । पछिल्लो समय सरकार परिवर्तनदेखि पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउसम्मका घटना जोडर सामाजिक सञ्जालहरूमा विभिन्न हल्ला फैलाइएका छन् ।
लगानीकर्ताहरू यी हल्लाको पछि लाग्दा बजारमा प्यानिक सेल आएको कतिपयको दाबी छ । यसो त शेयर बजार बढ्दा वा घट्दा नयाँ र साना लगानीकर्ताहरू बजार जता गयो त्यतै लाग्ने गर्छन् । यस कारण पनि बजार थप घटेको जानकारहरू बताउँछन् । राजनीतिक प्रभाव पर्ने क्षणिक हुने उनीहरूको भनाइ छ ।
यद्यपि पछिल्लो समय ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । यस्तै, सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्न थालेका छन् । यसकारण पनि यो समयमा शेयर खरीद गर्दा जोखिम कम हुने लगानीकर्ताको भनाइ छ ।
सोमवार सेन्सेटिभ इन्डेक्स २ दशलमव २८ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेको छ । आज ३१९ धितोपत्रको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर ७२ हजार ४२५ पटक कारोबार भएको छ ।
आज कारोबारमा आएका धितोपत्रमध्ये विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ८६६ पुगेको हो ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशत बढेर रू. ९१४ दशमलव ८० पुगेको छ ।
सोमवार ङादी ग्रुप पावरका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव २० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७४ मा झरेको छ । त्यस्तै, गुडवील फाइनान्सको शेयर मूल्य ५ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार ३७ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २२ करोड ३ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८५५ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको ङादी ग्रुप पावरको रू. १७ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ३८ प्रतिशत घटेको छ । त्यस्तै लगानी समूहको २ दशलमव ५१ प्रतिशत, अन्य समूहको २ दशमलव ३४ प्रतिशत र बैंकिङ्ग समूहको सूचक २ दशलमव ३० प्रतिशत घटेको छ ।