काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म धितोपत्र दोस्रो बजारका लगानीकर्ताले नाफामा कारोबार गरी सरकारलाई ७ अर्ब ६० करोड ३८ लाख ८२ हजार रुपैयाँभन्दा बढी कर बुझाएका छन् ।
सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट नाफामा कारोबार गरेको खण्डमा १० प्रतिशतसम्म पूँजीगत लाभकर संकलन गर्ने गर्छ ।
व्यक्तिगत लगानीकर्ताबाट अधिकतम ७ दशमलव ५ प्रतिशत र संस्थागत लगानीकर्ताबाट १० प्रतिशत पूँजीगत लाभकर सरकारले भारित औसत लागतका आधारमा उठाउँदै आएको हो ।
धितोपत्र राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार गत वर्षको पहिलो त्रैमाससम्को तुलनामा यस वर्ष सरकारले ६ अर्ब ८४ करोड ३३ लाख ४२ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।
गत वर्ष पहिलो त्रैमाससम्म सरकारले पूँजीगत लाभकरको रूपमा ७६ करोड ५ लाख ४० हजार रुपैयाँभन्दा बढी मात्र संकलन गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष पहिलो त्रैमाससम्म धितोपत्र दोस्रो बजारसँगै कारोबार रकममा समेत वृद्धि भएकाले सरकारको आम्दानी बढेको जानकारी सिडिएससीले दिएको हो ।
गत वर्षको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार १ हजार ८६४ दशमलव ६२ विन्दुमा नेप्से परिसूचक रहेको थियो । यस वर्षको असोज मसान्तसम्म भने नेप्से परिसूचक २ हजार ७४२ दशमलव ८८ विन्दुमा छ ।
यस वर्ष सरकारले साउन महीनामा मात्र ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । लाभकर संकलनको इतिहासमै यस वर्षको साउनमा सर्वाधिक पूँजीगत लाभकर संकलन भएको हो c
मिति | कुल पूँजीगत लाभकर संलकन रू. |
२०८० साउन | 400,891,786.56 |
२०८० भदौ | 140,069,243.05 |
२०८० असोज | 219,579,426.44 |
गत वर्षको तीन महीनाको जम्मा | 760,540,456.05 |
२०८१ साउन | 4,237,861,802.09 |
२०८१ भदौ | 2,779,480,607.96 |
२०८१ असोज | 586,540,465.52 |
यस वर्षको तीन महीनाको जम्मा | 7,603,882,875.57 |
गत वर्ष र यस वर्षमा फरक रकम | 6,843,342,419.52 |
स्रोत : सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)।