काठमाडौं । अघिल्ला दुई कारोबार दिनमा करीब ४ प्रतिशत घटेको नेप्से बुधवार (आज) भने २५ दशमलव ८८ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६६५ दशमलव ८१ विन्दुमा पुगेको हो । घटेको बजारमा पुन: खरीदकर्ता आकर्षित भएका छन् ।
कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ९० करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब १७ करोडमा झरेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८७ प्रतिशत वृद्धि भएको छ ।
आज ३१४ धितोपत्रको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर ५३ हजार ६७८ पटकमा रू. ५३ हजार ६७८ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८६० पुगेको छ । त्यस्तै मनकामना इन्जिनियरिङ् हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ८२ प्रतिशत बढेर रू. ४ सय पुगेको छ ।
बुधवार सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशमलव ७५ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७३० मा झरेको छ । त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ६९ प्रतिशत घटेर रू. १ हजार ३८ दशमलव ९० कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा गुडविल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १७ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४५ दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा कुमारी बैंकको रू. १३ करोड ८० लाख बराबरको भएको हो ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ०३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको सूचक २ दशमलव १४ प्रतिशत र विकास बैंक समूहको सूचक १ दशमलव २५ प्रतिशत वृद्धि भएको छ ।