काठमाडौं । पछिल्लो केही वर्षयता शेयर बजारमा लगानी गर्ने महिला लगानीकर्ताको संख्या बढ्दो छ । केन्द्रीकृत डिपोजिटरी, क्लियरिङ र सेटलमेन्ट सुविधा दिन स्थापित सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा महिलाको नाममा १५ लाख ५७ हजार ३९३ हितग्राही (डिम्याट) खाता रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा बढेर २६ लाख ७६ हजार ३०७ पुगेको छ । यसबाट विगत चार आर्थिक वर्षमा महिलाको नाममा रहेको डिम्याट खाता ७१ प्रतिशतभन्दा धेरैले बढेको देखिन्छ । पुरुषको तुलनामा महिला कम भए पनि चार आर्थिक वर्षमा भने बढ्दो प्रवृत्ति देखिएको छ । गत आर्थिक वर्र्षको अन्त्यसम्ममा पुरुषको नाममा ३६ लाख २७ हजारभन्दा बढी डिम्याट खाता पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल डिम्याट खातामा महिलाको हिस्सा ४२ दशमलव ३६ प्रतिशत छ । चालू आर्थिक वर्षमा पनि महिलाको नाममा खुलेका हितग्राही खाताको संख्या बढ्ने क्रममा रहेको छ । कात्तिक ३ गतेसम्म कुल डिम्याट खाताको संख्या ६४ लाख १६ हजार ४३० पुगेको छ ।
महिलाका लागि शेयर बजार लगानीको उपयुक्त क्षेत्र हो
सुशीला शाह, वीरगञ्ज
मैले धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू गरेको ८ वर्ष भयो । म पहिलादेखि नै शेयर बजारमा रुचि राख्थेँ । वीरगञ्जमा शुरूमा महिला लगानीकर्ता कोही पनि थिएनन् । म दाइहरूसँग सिकेर यो क्षेत्रमा आएको हुँ । वीरगञ्जमा अझै पनि पुरुषको तुलनामा महिला लगानीकर्ता कम नै छन् । तर शुरुआती दिनमा भन्दा अहिले केही बढी छन् । पुरुषले पनि आफ्नो परिवारका सबै सदस्यका नाममा कारोबार गर्नुहुन्छ ।
कतिपय महिला शेयर बजारमा परिवारका एकजनाले कारोबार गरे भइहाल्छ भनेर पनि सहभागी नभएका हुन सक्छन् । मैले वित्तीय अवस्था सबल भएका कम्पनीमा लगानी गर्दै आएको छु । बैंक, वित्त, बीमा र जलविद्युत् क्षेत्रका कम्पनीको शेयरहरूको बढी कारोबार गर्छु ।
शेयर बजारमा प्राय: बजार बढ्दा मात्रै शेयर खरीद गर्ने गरेको देखेको छु । तर, म घटेको समयमा किन्छु । बढेको बेला विक्री गर्छु । पछिल्लो समय बजार बढ्दा धेरै शेयर विक्री गरेँ । अहिलेसम्ममा मैले घाटामा शेयर विक्री गरेको छैन । धेरै नाफा लिन नसके पनि घाटामा विक्री गर्नुपरेको छैन, त्यसमै खुशी छु । मेले आफ्नो पोर्टफोलियोबाट ३० प्रतिशत शेयर विक्री गरिसकेँ । बाँकी रहेको शेयर बजार बढ्दा बेच्ने सोचले कुरेर बसेकी छु । बजार अझै केही तल आयो भने खरीद गरौंला भनेर पर्खिएको पनि छु ।
समयको सदुपयोग गर्दै आयआर्जन गर्न महिलाका लागि शेयर बजार एकदमै उपयुक्त क्षेत्र हो । मैले पनि कारोबार हुने समय ११ बजेदेखि ३ बजेसम्म यसमा लगाउने गरेको छ । महिलाहरू शेयर बजारमा अब लगानी गर्ने सोचमा छन् भने पहिला घटेको समयमा खरीद गर्नुहोस् भन्ने सुझाव दिन चाहन्छु । बढेको समयमा विक्री गर्न पनि सक्नुपर्छ । पछिल्लो समय बजार धेरै बढेको छैन ।
राम्रो वित्तीय अवस्था भएका कम्पनीको शेयर अहिले खरीद गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ । म शेयर बजारमा लागेर आर्थिक रूपमा स्वतन्त्र भएको छु । एउटा सानो बचतबाट गरेको लगानीले अहिले बच्चालाई पढाउन सहयोग मिलेको छ । बिहान १० बजेदेखि ५ बजेसम्म काम गर्ने जागीरे जीवनभन्दा मलाई शेयर बजार निकै उपयुक्त लागेको छ । आधारभूत जानकारीका साथै सम्बन्धित कम्पनीको अवस्थाबारे पर्याप्त जानकारी लिएर लगानी गरे राम्रो प्रतिफल पाउन सकिने मेरो अनुभव छ ।
शेयर बजारमा आईपीओबाट प्रवेश गर्न सकिन्छ
लक्ष्मी पोखरेल, पोखरा
मैले शेयर बजारमा लगानी गरेको एक दशक पूरा भएको छ । पोखरामा शुरुआती समयमा महिला लगानीकर्ताको संख्या न्यून थियो । पछिल्लो समय भने महिला लगानीकर्ताको संख्या बढ्दो छ । गृहिणीदेखि विद्यार्थीसम्म धेरैले शेयर बजारमा चासो राख्न थाल्नुभएको छ । अनलाइन प्रणालीबाट शेयर खरीदविक्रीलगायत सबै काम सहज तरीकाले हुने भएकाले पनि लगानीकर्ताको संख्या बढेको हो ।
कोरोना महामारीको समयमा धेरै व्यवसाय बन्द हुँदा धेरैजना यो क्षेत्रमा लाग्नुभएको थियो । त्यसमा महिला लगानीकर्ता पनि बढी प्रवेश गरेका थिए । शेयर बजारमा कारोबार गर्दा मैले नाफाभन्दा पनि जोखिम व्यवस्थापनलाई ध्यान दिएर लगानी गर्दै आएकी छु । म आफै व्यवस्थापन विषय पढेकी हुनाले पहिले नै शेयर बजारसम्बन्धी ज्ञान थियो । यो पढाइका कारण मलाई बजारमा प्रवेश गर्न र लगानी तथा कारोबार गर्न सजिलो भयो । म बजारको अवस्था बुझेर दीर्घकालीन या अल्पकालीन लगानी गर्ने निर्णय लिन्छु ।
बजार बढ्दो ‘ट्रेन्ड’मा छ भने धेरै अल्पकालीन रूपमा कारोबार गर्छु भने घट्दो अवस्थामा आवश्यक रणनीति बनाएर दीर्घकालीन रूपमा लगानी गर्दै आएको छु । शेयर बजारमा लगानी गर्न चाहने महिला दिदीबहिनीलाई शुरूमा प्राथमिक बजार अर्थात् आईपीओबाट शुरू गर्नुहोस् भन्ने सल्लाह दिन्छु । आईपीओमा गरिने लगानी धेरै सुरक्षित हुन्छ । स्वयं अध्ययन, मनन गरेर आईपीओसँगै विस्तारै स–सानो बचतलाई दोस्रो बजारमा लगानी गर्न सकिन्छ ।
अरूको कुरा सुनेको भरमा भन्दा आफैले बुझेर लगानी गर्न अनुरोध गर्छु । शेयर बजार लगानीका लागि राम्रो क्षेत्र हो । यो क्षेत्रमा हामीजस्ता धेरै महिला आउनुपर्छ । तर बजारसम्बन्धी आधारभूत कुरा बुझेर, सोचविचार गरेर, अध्ययन गरेर आउनुहोस् भन्न चाहन्छु ।
घरमै बसेर पनि आम्दानी गर्न सकिने क्षेत्र वा व्यवसायमध्ये शेयर बजार पनि एक हो । शेयर बजारबारे राम्ररी बुझेर लगानी गरेमा उचित प्रतिफल पाउन सकिन्छ । बुझेर, अध्ययन गरेर लगानी गरेमा जोखिम कम हुन्छ । यसका लागि आफैले पनि रणनीति बनाउनुपर्छ । आफ्नो जोखिम वहन गर्ने क्षमतालाई पनि ध्यान दिनुपर्छ ।
अध्ययन गरेर मात्र लगानीको निर्णय लिनुहोस्
पूजा सापकोटा भट्टराई, काठमाडौं
मैले २०६३ देखि आईपीओ भर्न थालेको हुँ । धितोपत्रको दोस्रो बजारमा २०६४ सालदेखि कारोबार शुरू गरेकी हुँ । त्यो समयमा ब्रोकर कम्पनीमै गएर शेयर कारोबार गर्नुपथ्र्यो । भीडमा २–३ जनामात्रै महिला देखिन्थे । कहिलेकाहीँ अन्य महिला नआएर आफू एक्लै पर्दा अप्ठ्यारो लाग्थ्यो । पछि पछि सबैसँग चिनजान भएपछि छलफल गरी लगानी गर्ने गर्थें । अहिले सबै अनलाइनबाट गर्न मिल्छ । यसले गर्दा सहज भएको छ, जसका कारण महिला लगानीकर्ताको संख्या बढेको हो ।
म शेयरमूल्य घट्दा खरीद गर्छु । आफूसँग भएको पैसा अथवा ऋण लिएर भए पनि शेयर किन्छु । बजार घट्नु खरीद गर्ने अवसर हो भने बढ्दा नाफा बुक गर्न सकिन्छ । यसकारण पैसाको व्यवस्थापन गर्नु जरुरी छ । शेयर बजारमा प्राय: नयाँ लगानीकर्ता भित्रिने बजार बढ्दा हो । यसले गर्दा हाम्रो लगानी धेरै जोखिममा पर्ने गर्दछ । यसकारण पनि बजारमा प्रवेश गर्नुपूर्व अध्ययन गर्नु जरुरी छ । त्यसपछि कारोबार गर्दै जाँदा धेरै कुरा बुझिन्छ, सिकिन्छ ।
अहिले शेयर बजारको ज्ञान लिने माध्यम धेरै छन् । पहिला आफैले अध्ययन गरेर मात्रै लगानीको निर्णय लिनुपर्छ । महिला लगानीकर्ताका लागि शेयर बजार एकदमै उपयुक्त ठाउँ लाग्छ । किनभने घरको काम सकेर बच्चालाई विद्यालय पठाएपछि दोस्रो बजारमा कारोबार शुरू हुन्छ । कारोबार गर्ने समय सकिँदा विद्यालयबाट बच्चाहरू घर आउँछन् र उनीहरूलाई समय दिन सकिन्छ ।
बुद्धिमत्तापूर्वक लगानी गरेर आफ्नो आर्थिक हैसियत बढाउन सकिन्छ । यसरी लगानी गर्दैै जाँदा आर्थिक रूपमा कसैसँग भर पर्नु पर्दैन । शेयर बजारमा लगानी गर्दा पैसासँगै ज्ञान तथा अनुभव पनि आर्जन गर्न सकिन्छ । म महिला दिदीबहिनीलाई शेयर बजारमा स–सानो बचतबाट लगानी शुरू गर्नुहोस् भन्न चाहन्छ । शेयर बजारमा दैनिक दुई–तीन घण्टा मात्र समय दिए पनि पुग्छ ।
आवश्यक जानकारी नलिई अरूको लहैलहैमा लागेर कारोबार गर्दा बढी जोखिम हुन्छ । त्यसैले शेयर बजारबारे आधारभूत ज्ञान लिएर मात्र लगानी गर्न आग्रह गर्दछु । अहिले प्रविधिको सुविधाले जहाँ बसेर पनि शेयर कारोबार गर्न सकिने भएको छ ।