नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले धितो लिएर मात्रै ऋण प्रवाह गर्ने गरेका छन् । यसमा बैंकको ऋण लगानी धेरै मात्रामा सुरक्षित हुने भए पनि त्यसले अर्थतन्त्रको विकासमा कम सहयोग पुग्छ । त्यसैले क्रेडिट स्कोरका आधारमा ऋण दिने व्यवस्था गर्न निकै समयदेखि आवाज उठे पनि बल्ल केन्द्रीय बैंकले यसतर्फ सोच्न थालेको छ । मौद्रिक नीतिमा नै यसबारे उल्लेख भए पनि हालसम्म यसबारे कुनै नीतिगत व्यवस्था गरिएको छैन । तर, वित्तीय अनुशासन र जिम्मेवारी कायम गर्न यस्तो व्यवस्था आवश्यक छ ।
अहिले नेपाल राष्ट्र बैंकले ऋण लगानी गर्दा व्यक्तिको योग्यता मापन गर्ने प्रमुख आधार ‘क्रेडिट स्कोरिङ’कोे प्रावधान लागू गर्ने तयारी थालेको छ । त्यस्तै व्यक्तिले गर्ने वित्तीय कारोबारको प्रवृत्ति र विश्वसनीयताका आधारमा क्रेडिट स्कोर बन्ने भएकाले बैंकहरूलाई यसका आधारमा कर्जा प्रवाह गर्न सजिलो हुने अर्थविद् रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव रहेको छ । हालै मात्र नेपालको सार्वजनिक शाखको रेटिङ भएको छ जसले नेपालको वास्तविक आर्थिक हैसियत देखाउँछ । कम्पनी र व्यक्तिका लागि क्रेडिट स्कोर अनिवार्य गरिनुपर्छ ।
आजको आधुनिक बैंकिङ प्रणालीमा ‘क्रेडिट स्कोरिङ’ एक निर्णायक उपकरण बनिसकेको छ, जसको आधारमा वित्तीय संस्थाहरूले व्यक्ति वा संस्थालाई ऋण दिने वा नदिने निर्णय गर्छन् । क्रेडिट स्कोरिङ आर्थिक आचरण, जिम्मेवारी र विश्वासको प्रतीक हो । डिजिटल बैंकिङ र फाइनान्स प्रविधिहरूको विकाससँगै यसको आवश्यकता बढेको छ । विश्वका सबैजसो देशमा क्रेडिट स्कोरका आधारमा ऋण प्रवाह हुन्छ । त्यसो हुँदा नेपालमा पनि यस्तै गर्न आवश्यक छ, गर्न सकिन्छ र गर्नैपर्छ ।
- क्रेडिट स्कोरिङ आर्थिक आचरण, जिम्मेवारी र विश्वासको प्रतीक हो ।
- क्रेडिट स्कोरिङ भन्नाले कुनै व्यक्ति वा संस्थाको विगतको आर्थिक आचरणका आधारमा ऋण फिर्ता गर्ने क्षमताको मूल्यांकन हो ।
- क्रेडिट स्कोरिङले नागरिकहरूमा समयमै ऋण तिर्ने, बजेट बनाएर खर्च गर्ने संस्कार बस्छ ।
क्रेडिट स्कोरिङ भन्नाले कुनै व्यक्ति वा संस्थाको विगतको आर्थिक आचरणका आधारमा ऋण फिर्ता गर्ने क्षमताको मूल्यांकन हो । यस स्कोरमा मुख्यत: कतिपटक ऋण लिएको, समयमा तिर्ने व्यवहार, क्रेडिट कार्डको प्रयोग, आम्दानी–खर्चको अनुपात, बैंक खाताको प्रयोग र अदालतको मुद्दा वा डिफल्टजस्ता रेकर्डहरू समावेश हुन्छन् । कतिपय देशमा ड्राइभिङमा भएको कारबाही, अशिष्ट आचरणसमेत स्कोरिङमा हेरिन्छ । यसका लागि डिजिटल प्रणालीमा व्यक्तिका सबै अभिलेख सुरक्षित हुन्छ र ती सबै क्षेत्रलाई एकअर्कासँग जोडिएको हुन्छ । देशभरिका नेटवर्कमा जहाँबाट पनि एक क्लिकको भरमा व्यक्तिको क्रेडिट स्कोर थाहा हुन्छ । त्यसैले व्यक्ति होस् वा कम्पनी कसैले पनि क्रेडिट स्कोर बिगार्दैनन् । यसले नागरिकलाई कानूनको पालना गर्नसमेत बाध्य पार्छ ।
धेरैजसो बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिनुअघि क्रेडिट स्कोरलाई ‘जोखिम मूल्यांकन’का रूपमा हेर्छन् । यो स्कोर व्यक्तिको ऋण फिर्ता गर्ने इच्छाशक्ति र क्षमताको सूचक मानिन्छ । उच्च स्कोरले कम जोखिम देखाउँछ भने न्यून स्कोरले जोखिम धेरै रहेको संकेत गर्छ । त्यसैले बैंकहरू उच्च स्कोर भएकालाई कर्जा दिन प्राथमिकता दिन्छन् र न्यून स्कोर भएका व्यक्तिलाई ऋण दिन हिचकिचाउँछन्, वा बढी ब्याजदर माग गर्छन् । जहाँ धितो माग गर्न सकिँदैन, त्यहाँ क्रेडिट स्कोरले नै ग्यारेन्टीको काम गर्छ । स्कोरको आधारमा बैंकहरूले केही घण्टाभित्रै ऋण स्वीकृत गर्न सक्छन् । ऋणदातालाई ग्राहकको वित्तीय अवस्था थाहा पाउन सजिलो हुन्छ । नागरिकहरूमा समयमै ऋण तिर्ने, बजेट बनाएर खर्च गर्ने संस्कार बस्छ ।
नेपालमा कर्जा सूचना केन्द्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूले कुन कुन बंैक तथा वित्तीय संस्थावाट कर्जा लिएको र तिनीहरू खराब सूचीमा परे नपरेका मात्रै जानकारी पाउँछन् । कर्जाका लागि व्यक्तिगत क्रेडिट स्कोरिङ राम्रो बनाउनुपर्छ । अझै पनि धेरै ऋण व्यक्तिगत चिनजान, सिफारिश वा धितोमा आधारित छन् । त्यसैले क्रेडिट स्कोरिङका आधारमा ऋण प्रवाह गर्नका लागि विशेष प्रणाली बनाउन आवश्यक छ र कर, ड्राइभिङ लाइसेन्स, बिजुली, खानेपानीलगायत विभिन्न क्षेत्रलाई यससँग जोड्नुपर्छ जसले गर्दा ऋण माग गर्ने व्यक्तिको इमानदारी थाहा हुन्छ । यो प्रणालीले व्यक्तिको ऋण तिर्ने क्षमता मात्र होइन, उसलाई समाजमा राम्रो आचरण कायम गर्न पनि सहयोग गर्छ । यसले गर्दा व्यक्ति वा कम्पनीले क्रेडिट स्कोर सुधारका लागि सधैं सचेत रहने र सबै नियम पालना गर्ने संस्कारको विकास गराउँछ ।