काठमाडौं । समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले व्यवस्थापन आफ्नो हातमा लिएसँगै कर्णाली डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ३०० कित्ता शेयर बन्धक बनेको छ । एक महीनाअघि शीघ्र सुधारात्मक कारबाही गरेकोमा सुधार नभएपछि केन्द्रीय बैंकले बुधवार उक्त विकास बैंकको सञ्चालक समिति खारेज गरी व्यवस्थापनको जिम्मा आफै लिएको हो । त्यसपछि बुधवार नै धितोपत्र बोर्डले उक्त कम्पनीको धितोपत्रको कारोबार स्थगन गरी यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई निर्देशन दियो । बिहीवारदेखि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले अर्को निर्णय नभएसम्म कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का हुने जानकारी दिए । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको अवस्था सुधार भई सम्बद्ध कम्पनीका शेयरधनीलाई नै हस्तान्तरण भई कारोबार अघि बढेमा मात्र शेयर कारोबार खुला हुने पराजुलीको भनाइ छ । यस आधारमा लगानीकर्ताको शेयर लामो समय बन्धक बन्ने सम्भावना देखिएको छ ।
पछिल्लो साता तीन कारोबार दिन शेयर किनबेच हुँदा यो कम्पनीको १ लाख ३६ हजार ८९६ कित्ता शेयर कारोबार भएको थियो । पछिल्ला तीन कारोबार दिन शेयर खरीद गरेका लगानीकर्ताको खातामा शेयर जम्मा नै नभई बन्धक हुन पुगेको छ । नेपालको धितोपत्र बजारमा कारोबार राफसाफ र फछ्र्योटका लागि टी प्लस टू प्रणाली लागू छ । यसअनुसार शेयर कारोबार गरेको २ दिनभित्र राफासाफ भई तेस्रो दिन शेयर खरीद गर्नेको हकमा खातामा शेयर र विक्री गर्नेको हकमा खातामा पैसा जम्मा हुन्छ । आफ्नो सम्पत्ति बन्धक भएको अवस्थामा कतिपय लगानीकर्ता आत्तिएका छन् भने कतिपय राष्ट्र बैंकको व्यवस्थापनमा उक्त कम्पनीलाई सुधार्ने प्रयास भइरहेकाले आफ्नो सम्पत्ति फिर्ता हुने आशमा छन् ।
यो बैंकका ठूला शेयरधनीमध्ये सविता अग्रवाल र जयप्रसाद अग्रवालको नाममा सबैभन्दा धेरै शेयर स्वामित्व छ । कम्पनीको सबैभन्दा बढी १ लाख ३९ हजार ६७१ कित्ता शेयर सविता अग्रवालको नाममा रहेको देखिन्छ । त्यस्तै जयप्रकाश अग्रवालको नाममा १ लाख २० हजार २१७ कित्ता शेयर रहेको तथ्यांक छ । सर्वाधिक शेयर कित्ताको तेस्रो नम्बरमा भने कलश स्टक मार्केट छ । कलश स्टक मार्केटको नाममा उक्त कम्पनीको ९२ हजार २१० कित्ता शेयर छ । १६ हजारभन्दा बढी कित्ता शेयर हुने शेयरधनीको संख्या १२ छ ।
कम्पनीको शेयरमूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता ८१० रुपैयाँ कायम भएको थियो । यो बैंकले तोकिएअनुसार पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेकोलगायत समस्या देखिएपछि राष्ट्र बैंकले गत मङ्सिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।
बैंकमा आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैंकले औंल्याएको छ । यो बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाह रका छन् । व्यवस्थापन समितिले बिहीवारदेखि नै कम्पनी सञ्चालनको जिम्मेवारी सम्हालेको छ । उक्त समितिलाई कानूनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी दिइएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणमा केन्द्रित हुँदै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डिलिजेन्ज अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायत अख्तियारी दिइएको राष्ट्र बैंकले बताएको छ ।
यस कम्पनीले ३ आर्थिक वर्ष लाभांशसमेत वितरण गरेको इतिहास छ । आर्थिक वर्ष (आव) २०७०/७१ मा २५ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले आव २०७१/७२ मा ११ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछि आव २०७२/७३ मा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ । त्यसपछिका वर्षहरूमा भने कम्पनीले लाभांश वितरण गरेको छैन । बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार यो १ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ ।
उक्त अवधिसम्म कम्पनीले ५ अर्ब २१ करोड १८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको तथ्यांक छ । जगेडा कोषमा १९ करोड ८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निङ भने २० करोड ३४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । पहिलो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी र कुल दायित्व ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको देखिन्छ । यो बैंकले १९ ओटा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।