काठमाडौं । सधैं पिछडिएको क्षेत्रका रूपमा रहेको कर्णाली प्रदेशका मानिसको औसत आयु अन्य प्रदेशको तुलनामा माथि रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतवार सार्वजनिक गरको जनसांख्यिक सूचकअनुसार कर्णाली प्रदेशका मानिसको औसत आयु ७२ दशमलव ५ वर्ष छ, जुन अन्य प्रदेशका मानिसको औसत आयुभन्दा बढी हो । यो राष्ट्रिय औसत आयुभन्दा पनि बढी हो ।
२०७८ सालमा गरिएको जनगणनाको आधारमा तयार गरिएको जनसांख्यिक सूचकअनुसार नेपालीहरूको औसत आयु ७१ दशमलव ३ वर्ष रहेको छ । यसमा पुरुषको औसत आयु ६८ दशमलव २ वर्ष र महिलाको ७३ दशमलव ८ वर्ष रहेको छ । प्रदेशअनुसार वर्गीकरण गर्दा दोस्रो धेरै औसत आयु बागमती प्रदेशका मानिसको र लुम्बिनी प्रदेशका मानिसको सबैभन्दा कम औसत आयु रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ । लुम्बिनी प्रदेशका मानिसको औसत आयु ६९ दशमलव ५ वर्ष मात्र छ ।
‘कर्णालीका मानिसको औसत आयु किन धेरै भयो भन्ने सन्दर्भमा हामी पनि थप अध्ययन गर्दै छौं,’ राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले आइतवार आयोजित पत्रकार सम्मेलनमा भने । ‘कर्णालीमा विगत १०–२० वर्षमा सरकार र विकास साझेदारमार्फत धेरै परियोजना कार्यान्वयनमा आएकाले पनि त्यसको असर देखिएको हो कि ।’
उनका अनुसार कर्णालीमा गरीबी पनि उल्लेखनीय रूपमा घटेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा गरिएको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) अनुसार कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत मानिस गरीबीको रेखामुनि छन् । गरीबीको राष्ट्रिय औसत भने २० दशमलव २७ प्रतिशत छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)सँग मिलेर सन् २०२० मा तयार पारेको नेपालको मानव विकास प्रतिवेदनअनुसार कर्णाली प्रदेशको मानव विकास सूचकांक अन्य प्रदेशको तुलनामा राम्रो छैन ।
मधेश प्रदेशपछि दोस्रो नराम्रो सूचकांक कर्णाली प्रदेशको छ । तथ्यांक कार्यालयका अनुसार कोरा मृत्युदर पनि कर्णालीको सबैभन्दा कम छ । शिशु मृत्युदर पनि प्रदेशको तुलनामा कर्णालीमा दोस्रो सबैभन्दा कम छ ।
तथ्यांक कार्यालयका अनुसार शिशु १ वर्ष नहुँदै मृत्यु हुने दर प्रति १ हजारमा कर्णालीमा १४ जना रहेको छ । वाग्मती र गण्डकी प्रदेशमा भने शिशु मृत्युदर प्रतिहजारमा १२ जना रहेको छ ।
तत्कालीन केन्द्रीय तथ्यांक विभागमा उपमहानिर्देशक रहेका रुद्र सुवालले शिशु तथा बाल मृत्युदर स्वात्तै घटेको कारण कर्णालीलगायत सबै ठाउँमा औसत आयु बढेको हो । ‘कर्णालीमा पनि शिशु मृत्युदर व्यापक घटेको छ । यी क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवक परिचालनबाट पनि शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ,’ उनले भने ।
तर, उनका अनुसार कर्णाली अन्य प्रदेशभन्दा अगाडि आउनुको कारण भने थप अध्ययनकै विषय रहेको बताए ।