कृत्रिम गर्भाधान परियोजना सहकारीमार्फत
वैशाख ११, तनहुँ (अस) । तनहुँमा दुग्ध उत्पादक सहकारीमार्फत कृत्रिम गर्भाधानको काम अघि बढाइने भएको छ । यसका लागि ‘साना दुग्ध उत्पादक किसानका लागि बजार पहुँच दुग्ध परियोजना’ले प्राविधिकहरूलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ । कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने ‘लिक्विड नाइट्रोजन कण्टेनर’ हस्तान्तरण गरिएको परियोजनाका कार्यक्रम संयोजक लीलजङ्ग गुरुङले बताए ।
दूध उत्पादन वृद्धि गर्ने उन्नत नश्लका गाई तथा भैंसी तयार पार्न ११ जना प्राविधिक उत्पादन गरिएको गैरसरकारी संस्था समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङले बताए । ‘ती प्राविधिकले सहकारीका सदस्य किसानलाई सुपथ मूल्यमा कृत्रिम गर्भाधान सुविधा दिनेछन्,’ उनले भने ।
दूधमा आधारित पशुपालनमा वृद्धि भए पनि नश्लसुधार नभएका कारण दूध उत्पादनमा वृद्धि हुन नसकेकाले सहयोग कार्यक्रम शुरू गरेको गुरुङले बताए । कृत्रिम गर्भाधानका लागि विभिन्न ६ सहकारीसँग आबद्ध प्राविधिकहरूलाई विभिन्न चरणमा तालीम दिइएको छ । तालीमपछि परियोजनाले जिल्ला पशुसेवा कार्यालयलाई उन्नत जातको वीर्य भण्डारणका लागि ५० लिटर क्षमताका चारओटा ठूला कण्टेनर पनि हस्तान्तरण गरिसकेको छ । यी सबै सामग्री र तालीममा करीब रू. ११ लाख खर्च भएको गुरुङले जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.