काठमाडौं। नबिल बैंकले कतारमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । ‘घर त नेपाल’ शीर्षकको उक्त कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जानकारी दिइएको थियो ।
त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘यसले तपाईंहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरूको महत्त्वपूर्ण योगदान रहेकामा जोड दिए । कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र शेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो ।
बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले नबिल बैंकको उद्देश्य विदेशमा श्रम गरिरहेका नेपालीको मेहनतको उचित सदुपयोग गर्दै आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरणहरू उपलब्ध गराउनु रहेको बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले वित्तीय सचेतनाले सचेत वित्तीय निर्णय गर्दै बैंकिङ सेवा सही रूपमा उपयोग गरेर रेमिट्यान्सलाई दिगो लगानीमा रूपान्तरण गर्न सघाउने बताए ।
नबिल बैंकले लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकलाई नेपालमा पैसा पठाउनका लागि सेवा प्रवाह गर्दै आएको छ । कतारबाट श्रमिकले पठाएको पैसा नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा गर्न सकिने र विभिन्न स्थानमा रहेका २० हजारभन्दा बढी नबिल रेमिटका एजेन्टबाट सहजै प्राप्त गर्न सकिने बताइएको छ । बैंकले रेमिट्यान्स पठाउने ग्राहकका लागि विशेष बचत खाता, डिजिटल बैंकिङ सुविधा तथा सरल ऋण सेवा प्रवाह गरिरहेको बताइएको छ ।