काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्वीटी फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले पुस महीनाको तुलनामा माघ महीनामा सूचीकृत शेयरमा लगानी बढाएका छन् ।
कुमारी इक्वीटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३९ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ७२ करोड १२ लाख पुर्याएको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८० करोड ५३ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ८२ करोड ८५ लाख पुगेको छ ।
यस योजनाको न्याभ भने पुसको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तमा योजनाको न्याभ ११ रुपैयाँ ६ पैसा रहेकोमा माघ मसान्तमा घटेर १० रुपैयाँ ९० पैसामा झरेको हो । त्यस्तै योजनाले माघ मसान्तसम्ममा रू. ४ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा पुसको तुलनामा भने २९ प्रतिशत कम हो । पुस मसान्तमा फण्डले ६ करोड ५८ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो ।
पुस मसान्तमा फण्डको कुल आम्दानी रू. ७ करोड ७७ लाख रहेकोमा माघ मसान्तमा घटेर रू. ६ करोड ५ लाखमा झरेको छ ।
कुमारी इक्वीटी फण्डको न्याभ पनि पुसको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४४ पैसा रहेकोमा माघ मसान्तमा घटेर १० रुपैयाँ ३२ पैसामा झरेको हो ।
यस फण्डले माघ मसान्तसम्ममा रू. २ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा पुस महीनाको तुलनामा २८ दशमलव ९१ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ४ करोड १४ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
पुस मसान्तमा फण्डको जम्मा आम्दानी रू. ५ करोड ८ लाख रहेकोमा माघ मसान्तमा झरेर रू. ४ करोड ३ लाखमा झरेको छ ।