काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलले आफ्नै कार्यालयमा आइतवार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ भाग्यमानी १० हजार ११५ जना आवेदकहरूले प्राप्त गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट १० हजार ११५ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी १ कित्ता शेयर भने यी मध्येकै एक जनाले प्राप्त गरेका हुन् । कम्पनीको आईपीओ एक जनाको भागमा भने ११ कित्तासम्म परेको छ ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १० लाख ४८ हजार ४६८ जना आवेदकहरूले आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये १० लाख ४७ हजार ३०५ जनाको आवेदन मात्र रितपूर्वक प्राप्त भएको जानकारी विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले असार २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको १० प्रतिशत शेयरमध्ये पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषमा बाँडफाँट गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने १ लाख २१ हजार ८६८ कित्ता शेयर बाँडफाँट गरेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६८ कित्ता सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो । यीबाहेक पनि २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।
यस कम्पनीले दोलखामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ ।