काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले पुस २७ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेको छ । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।
यस कम्पनीले सर्वसाधारणका लागि २०८० साउन ७ गते आईपीओ बाँडफाँट गरेको थियो । उल्लेखित प्रस्तावसँगै संस्थापक समूहका पाँच जना सञ्चालकहरू निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय भएको छ । स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । पुस १० गते सार्वजनिक बिदा परेकाले पुस ९ गतेसम्म कायम शेयधरनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।