काठमाडौं । बजारमा मासुको खपत घटेसँगै उत्पादनले लागत मूल्य नपाउँदा पोल्ट्री व्यवसायीहरू मर्कामा परेका छन् । लामो समयको बन्दाबन्दीको प्रभावका कारण हालसम्म मासुको खपत बढ्न नसक्दा पोल्ट्री व्यवसायीहरू उत्पादन लागतभन्दा कम मूल्यमा चल्ला तथा तयारी कुखुरा बिक्री गर्न बाध्य भएका हुन् ।
मासुको खपत घटेपछि व्यवसायीहरूले प्रतिकिलो १ सय ८० रुपैयाँ लागत पर्ने जिउँदो बोइलर कुखुरा प्रतिकिलो १ सय रुपैयाँमा मात्र बिक्री गर्नुपर्ने बाध्यता रहेको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए । उनका अनुसार लामो समयको बन्दाबन्दीका कारण उपभोक्ताको क्रयशक्ति घट्नुका साथै होटल, रेस्टुराँ तथा पार्टीप्यालेसहरू निर्वाध खुल्न नसक्दा मासुको खपत घटेको छ । उत्पादन लागतभन्दा कम मूल्यमा कुखुरा विक्री गर्नु परेपछि कुखुरापालक किसानहरू लामो समयदेखि निरन्तर रुपमा घाटामा रहेको विष्ट बताउँछन् ।
बन्दाबन्दी सुरु भएयता चल्ला बिक्री नभएर निरन्तर रुपमा मारमा परेका ह्याचरी व्यवसायीको समस्या पनि अहिलेसम्म सुध्रिन सकेको छैन । बन्दाबन्दीको सुरुआती चरणमा दैनिक ६ लाख चल्ला नष्ट गर्नु परेका कारण घाटामा रहेका ह्याचरी उद्योगहरू एक महिनादेखि उत्पादन लागतभन्दा निकै कम मूल्यमा चल्ना बेच्न बाध्य छन् । नयाँ उत्पादित चल्लाको माग घट्न गई ५६ रुपैयाँ ४५ पैसा लागत लागेकामा २० रुपैयाँमा पनि बिक्री हुन नसकेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले बताए ।
‘नेपालमा कोरोना महामारी सुरु भएयता निरन्तरको घाटा सहन नसकेर अहिलेसम्म ४४ वटा ह्याचरी उद्योग बन्द भएका छन्’, पोखरेलले भने । नेपालका कुल ३ सय २४ ह्याचरीमध्ये हाल २ सय ८० ह्याचरी मात्र सञ्चालनमा छन् । सामान्य अवस्थामा देशभर दैनिक ५ लाख किलो मासु खपत हुने गरेकामा अहिले यो परिमाण १ लाख ५० हजार किलोमा झरेको छ । अहिले कुखुराको मासुको मूल्य प्रतिकिलो २ सय ५५ रुपैयाँ छ ।