अर्थशास्त्र भनेकै लगानी र उपभोगबीच सन्तुलनको कला हो । लगानीले आम्दानीको आधार निर्धारण गर्छ र उपभोगले जीवनको आधार निर्माण गर्छ । त्यसैले मानिसले लगानी र उपभोगमा सन्तुलन मिलाउन सकेमात्र जीवनलाई जर्जरताबाट उर्वरतातर्फ लैजान सक्छ । सूक्ष्म अर्थशास्त्रमा व्यक्तिले र बृहत् अर्थशास्त्रमा राष्ट्रले लगानी र उपभोग दुवैमा जोड दिनुपर्छ । राज्यले व्यापक उपभोग गरेको हुन्छ तर लगानी गर्ने बेलामा स्रोतको कमी हुन्छ गरीब विकासशील देशहरूमा । जुन देशले लगानीमा उचित ध्यान नदिई केवल उपभोगमात्र गर्न बाध्य छन्, त्यस्ता देश गरीब हुन पुग्छन् । व्यक्तिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ किनकि व्यक्तिले आफ्नो कमाइलाई बाध्यतावश आधारभूत क्षेत्रमा उपभोग गर्छ । तर, लगानीमा ध्यान दिँदैन वा बचत नभएको कारणले ऊ उद्यमी बन्न सक्दैन ।
उद्यमीलाई सहयोग गर्ने र उनीहरूलाई सक्दो संरक्षण गर्नेमा राज्यले साहस गर्नैपर्छ । उद्यमीले पनि आफ्नो नाफालाई मात्र नहेरेर काम गर्नेको जीवन स्तरलाई समेत ख्यालमा राखेर व्यावसायिक संस्कृति देखाउन सकेमा मात्र हाम्रो आर्थिक परनिर्भरता कम हुन सक्ला ।
नेपालीको आम्दानी कम छ, त्यो न्यून आम्दानीलाई पनि लगानी गर्ने उपयुक्त स्थान छैन । देश भूपरिवेष्टित हुनु, प्रविधि विकासमा समुचित प्रयास नहुनु, उत्पादनमा उच्च दक्षता नहुनु, कच्चा पदार्थको पर्याप्त आपूर्ति नहुनु, राजनीतिक स्थिरता नहुनेजस्ता कारणले गर्दा लगानीको वातावरण बनेको छैन । यही कारणले देशका जनतामा लगानी कहिल्यै रुचिको विषय बनेन र त्यो प्रकारको विश्वव्यापी व्यावसायिक वातावरण पनि बन्न सकेको अवस्था छैन । जापानको टोयोटा कम्पनी, दक्षिण कोरियाको सामसुङ, अमेरिकाको एप्पलजस्ता कम्पनीले गरेको लगानी र तिनले तिर्ने करको कारणले ती देश नै धनीको सूचीमा परेका हुन् । एउटा सफल लगानीकर्ता देशको भविष्य नै बदल्न सक्ने हुँदा देशले व्यावसायिक लगानी सम्बन्धमा विद्यालय तहदेखि नै पाठ्यक्रममा सुधार गरी लगानी चेतना र जोश भर्ने किसिमको शिक्षा दिनुपर्नेमा त्यसतर्फ उचित ध्यान दिइएको छैन ।
हजारांै युवा विदेशमा छन् । उनीहरूबाट १० खर्ब माथिको विप्रेषण आउँछ । त्यसको अधिकांश अंश मानिसको आधारभूत आवश्यकताजस्तै गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यमा खर्च हुन्छ अर्थात् उपभोगमा । छोराछोरीलाई राम्रो शिक्षा दिने बहानामा हजारौं मानिस गाउँ छोडेर शहरमा आएर छोराछोरीलाई बोर्डिङमा पढाइरहेका छन् । त्यो आधारभूत क्षेत्रको खर्चबाहेक केही रकम घडेरी किन्नमा र विलासिताका साधन किन्नमा खर्च भइरहेको छ । परन्तु देशको धरातलीय यथार्थमा लगानीको श्रममूलक चेत फैलिन सकेको छैन ।
उपभोक्ताले जति सक्यो बढी उपभोग गर्नुलाई नराम्रो मान्न सकिदैन । तर, लगानी शून्य पारेर उपभोग गर्नु कुनै पनि हालतमा राम्रो होइन । त्यसैले कमाइको निश्चित अंश र सीमान्त कमाइको ५० प्रतिशत अंश लगानीका लागि बचाउन सिकौं ।
गएको मङ्सिरमा कति आइफोन खरीद भए हिसाब छैन । तर, यो लेखकले थाहा पाएका चारओटा आइफोन नेपाल भित्रिएका छन् । एउटा छोराले आमालाई पठाएका थिए । यसको अन्तरराष्ट्रिय बजारमा मूल्य १ लाख ३३ हजार । यहाँको भन्सार शुल्क रु २३ हजार ५०० थियो । त्यसपछि एक केटा साथीले आफ्नो केटी साथीलाई एउटा मोबाइल पठाए जसको मूल्य २ लाख १० हजार र भन्सार शुल्क ३९ हजार थियो । साथमा एक जोर लेडिज जुत्ता थियो जसको मूल्य १८ हजार र भन्सार मूल्य १० हजार ५००। गरी २८ हजार ५०० थियो । यस्तै श्रीमतीलाई १ हजार ५२७ अमेरिकी डलरको मोबाइल पठाए जसको भन्सार मूल्य ३८ हजार ८७० भन्सार तिरेका छन् । कमाएको रकम यो तहमा खर्च गर्दैगर्दा एउटा महत्त्वपूर्ण पाटो छुटेको हुन्छ, त्यो हो– लगानी र लगानीको आदत । यो तहको विलासी खर्चलाई लगानीमा परिणत गर्ने वातावरण बनाउन सकेमात्र दीर्घकालमा देश धनी बन्न जान्छ । यी सबै उदाहरण मात्र हुन् । कमाउनेले करोडौंको गाडी, बंगला पनि किन्छन् जसले प्रत्यक्ष रूपमा आम्दानीको आधार निर्माण गर्दैन ।
उपभोग अर्थशास्त्रको प्राण हो । त्यसैले उपभोक्ताले जति सक्यो बढी उपभोग गर्नुलाई नराम्रो मान्न सकिँदैन । तर, लगानी शून्य पारेर उपभोग गर्नु कुनै पनि हालतमा राम्रो होइन । त्यसैले कमाइको निश्चित अंश र सीमान्त कमाइको ५० प्रतिशत अंश लगानीका लागि बचाउन सिकौं । राज्यले पनि त्यो वातावरण बनाउन जरुरी छ । जति बेला पनि लगानी र बचतका बारेमा सोचियो भने मानिसको जीवन नीरस बन्छ । जतिबेला पनि उपभोगको बारेमा मात्र सोचिएमा व्यक्ति कंगाल बन्छ र देश पनि ।
नेपाललाई धनी बनाउने हो भने कसै न कसैले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नैपर्छ । प्रविधि अनुसन्धानमा तथा विशाल परियोजनामा लगानी गरिएकै हुनुपर्छ । राज्यले पूर्वाधारमा र जनताले उद्योग व्यापारमा लगानी नगरेसम्म देश पूर्ण रोजगारीको अवस्थामा पुग्दैन । पूर्ण रोजगारी नभएसम्म दक्ष, अर्धदक्ष वा अदक्ष कामदारले उचित तलब पाउँदैनन् । उचित तलब नपाउँदासम्म देशबाट युवा पलायन रोकिँदैन । लगानी र उद्यमका अनगिन्ती अवसर हुँदाहुँदै पनि भारत र चीनबाट पश्चिमा देशमा युवा पलायन मात्रात्मक रूपमा नेपालबाट भन्दा बढी हुने गर्छ । जनसांख्यिकीको अनुपातमा हाम्रो पलायन अलि बढी हुनुको मुख्य कारण देशमा लगानीको वातावरण ( डुइङ बिजनेश) को अभाव पनि हुन सक्छ तर मुख्य रूपमा प्रतिस्पर्धीलाई जित्ने गरी बृहत् उत्पादन गर्न नसक्नु हो । समस्या सबै देशमा होलान् तर पनि जापान, चीन, भियतनाम, ब्राजिल जस्ता देशमा तीव्र विकास हुनुमा समुद्रसँगको पहुँच राम्रो हुनु हो भनेर नेपाली उम्किने अवस्था पक्कै पनि छैन । अरू पनि केही कारण छन् जसले नेपालमा औद्योगिक संस्कृतिको विकास हुन सकेको छैन । कामदार तथा कर्मचारीलाई जीवन निर्वाहको सिद्धान्त र महँगीको अनुपातलाई हेरेर तलबसुविधा दिने चलन नेपाली निजीक्षेत्रको छैन । सबैले मौकाको फाइदा उठाउँदै अरूको श्रम शोषण गरेकै अवस्था छ । निजी विद्यालयमा पढाउने शिक्षकलाई निकै कम तलबमा घोटाइन्छ । यदि लगानीकर्तालाई नाफा हुँदैनथ्यो भने नयाँ विधेयकमा ५ वर्षपछि गुठीमा लैजाने कुराको किन विरोध गरियो ? होइन भने शिक्षकलाई सरकारीसरह तलब किन दिइँदैन ?
यसैगरी सामुदायिक विद्यालयका शिक्षकबाट निजीमा जस्तो मेहनतका साथ किन पढाइँदैन ? यो कसैप्रति लक्षित विषय होइन । हामी गरीब हुनुमा पसिनाको मूल्यमा समुचित नाफा तथा ज्यालाको वितरण नहुनु पनि हो । लाखौंको मोबाइल मगाउने/पठाउनेले भन्सार शुल्क तिर्दा नेपाललाई सराप्छ । किनकि हामीमा राज्यप्रतिको दायित्व वहन गर्ने चाहना निकै कम छ । सबै कुरामा देशलाई सरापेर पक्कै पनि जिम्मेवार नागरिक बनिँदैन । राज्य जनताप्रति सकारात्मक र जनता राज्यप्रति सकारात्मक हुन नसक्दा पनि विभिन्न समस्या मौलाएका छन् जसले हामीलाई उत्पादनमुखी नबनाएर पलायनमुखी बनाएको छ । युवा पलायनको यो प्रवाह त्यतिबेलासम्म रोकिने छैन जति बेलासम्म नेपालमा पूर्ण रोजगारीको अवस्था आउने छैन । रोजगारी पनि पर्याप्त नहुने र काम पाएकाले पनि पर्याप्त ज्याला नपाउने अवस्था जहिलेसम्म रहन्छ त्यतिबेलासम्म हाम्रा युवा देश छोड्न बाध्य हुनेछन् ।
उद्यमीलाई सहयोग गर्ने काममा र उनीहरूलाई सक्दो संरक्षण गर्नेमा राज्यले पनि साहस गर्नैपर्छ । उद्यमीले पनि आफ्नो नाफालाई मात्र नहेरेर काम गर्नेको जीवन स्तरलाई समेत ख्यालमा राखेर व्यावसायिक संस्कृति देखाउन सकेमा मात्र हाम्रो आर्थिक परनिर्भरता कम हुन सक्ला । अन्यथा हामी आउने दशकौंसम्म पनि गरीब रहिरहनेछौं । अब देशको मुहार फेर्ने रणनीति भनेको उपभोग र लगानीबीच सन्तुलन कायम गर्नु नै हो । त्यसको साथसाथै लगानीका लागि त्यस्तो क्षेत्र खोज्न जरुरी छ जसमा नेपालले तुलनात्मक लाभ लिन सकोस् । नेपालीले अब विश्वमा अन्यत्र बन्न नसक्ने केही वस्तु बनाउनुपर्छ जसलाई विश्वको हजार बजारमा निर्यात गर्न सकियोस् ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।