काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आह्वान गरेका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्ट्स समिट)मा नेपालको निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्तालाई यसबाट लाभ लिन आग्रह गरेका हुन् ।
उनले भने, ‘नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरूमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गर्दछु ।’ नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रिया सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न नेपाल सरकारसहित निजीक्षेत्रका तर्फबाट पहल भइरहेको उनले बताए ।
‘नेपाल सरकारले यही अप्रिल २८–२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई ध्यानमा राख्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन, नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘विभिन्न सम्भावित साझेदार मुलुकसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ ।’
नेपालले आयोजना गरेको सो लगानी सम्मेलनमा सहभागी हुन पनि उनले सबैसँग आग्रह गरे । ‘सेपिङ फ्युचर गभर्मेन्ट’ नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख अन्तरराष्ट्रिय संघसंस्था, राजनीतिक दल तथा निजीक्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजीक्षेत्रको भूमिकाको बारेमा चर्चा गर्दै नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।