काठमाडौं । लगातार तीन कारोबार दिन घटेर नेप्से परिसूचक २ हजार विन्दु नजिक आएको छ । सोमवार परिसूचक १६ दशमलव ८२ अंक घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा झरेको हो । तीन कारोबार दिनका नेप्से परिसूचक २९ दशमलव ४७ अंक घट्यो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ७९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत घटेको छ । ३१४ धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर ५० हजार ५२४ पटकमा रू. २ अर्ब ७९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माछापुच्छ्रे बैकको ८.५ माछापुच्छ्रे डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ७ दशमलव ०९ प्रतिशत वृद्धि भएको छ । ऋणपत्र मूल्य प्रतिकित्ता रू ९९७ मा पुगेको छ । त्यस्तै दोस्रोमा मेन्छ्याम हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ०५ प्रतिशत बढेर रू. ४ सय १० पुगेको हो ।
सोमवार दुई कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । गुराँस लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८९५ दशमलव ४० र दोल्ती पावरको शेयर मूल्य रू. ४७८ दशमलव ८० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा ङादी ग्रुप पावरले ओगटेको छ । यस कम्पनीको रू. १७ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ३२६ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको रू. ७ करोड ७० लाख बरावरको भएको हो ।
कारोबारमा आएका १३ओटै समूहगत परिसूचक सबै घटेका छन् । सबैभन्दा बढी वित्त समूहको सूचक १ दशमलव ६४ प्रतिशत घटेको हो । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशलमव ५९ प्रतिशत घटेको छ ।
पछिल्लो केही दिनयता बजारमा खासै उत्साह देखिएको छैन । निरन्तर घटेर नेप्से पुनः २ हजारको मनोवैज्ञानिक तहमा झरेको छ । यसअघि पनि नेप्से परिसूचक यही तहबाट केही माथि लागेको थियो । तर आज अर्थात सोमवार पनि फेरि घटेर सोही तहमा आएको छ । लगातार घट्दो ब्याजदरले पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।
यसोत लामो समय देखि घट्दो ट्रेण्डमा रहेको बजारमा धेरै कम्पनीहरुको शेयर मूल्य निकै तल्लो विन्दुमा आएका छ । यस कारण पनि यो समयमा अल्पकालिन र दिर्घकालिन लगानीको लागि उपयुक्त हुने पुरानो लगानीकर्ताहरु बताउँछन् । शेयर बजार सधै बढ्ने पनि होइन भने घट्ने पनि होइन । यस कारण पनि लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत तथा प्राविधिक पक्ष हेरेर लगानी गर्नु पर्ने जानकारहरु बताउँछन् ।