काठमाडौं । सरकारले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति २०८१ जारी गरेको छ । लघु, घरेलु तथा साना उद्योग मार्फत दिगो उत्थानशील, समावेशी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने भन्दै सरकारले यो नीति जारी गरेको हो । देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउन लघु, घरेलु तथा साना उद्योगको योगदान बढाउने उद्देश्य नीतिमा लिइएको छ ।
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र नीति कार्यान्वयनका लागि मूलरूपमा जिम्मेवार निकायको रूपमा रहनेछ । उक्त केन्द्रलाई नीति कार्यान्वयनमा सहयोग एवं सहजीकरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ । प्रदेश सरकार तथा स्थानीय तहले थप रणनीति तथा कार्यनीति तर्जुमा गरी यस नीतिको कार्यान्वयन गर्न सक्नेछन्। साथै, जिम्मेवार र सहयोगी निकाय यकिन गरी क्रियाकलाप सहितको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । नीतिको कार्यान्वयन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वय र सहकार्यमा गरिने नीतिमा उल्लेख छ ।
लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई मजबुत गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउनु, बृहत्तर आर्थिक समावेशिता तथा उद्यमशील संस्कृतिको विकास गर्दै स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना, गर्नु निर्यातयोग्य वस्तु उत्पादन गर्न लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन गर्नु प्रमख उद्देश्य रहेको छ ।
'अर्थतन्त्रको संरचनागत परिवर्तन, सूचना प्रविधिको विकास र विश्व बजारसँगको आबद्धताले औद्योगिक क्षेत्रमा सिर्जित अवसरहरूलाई लघु, घरेलु तथा साना उद्योगको क्षेत्रमा समेत समुचित उपयोग गर्न सकिने अवस्था रहेको छ। यस क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको बढ्दो भूमिका सुनिश्चित गर्दै आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगसम्बन्धी मार्गदर्शन गर्न छुट्टै नीतिको आवश्यकता रहेको छ, ' नीतिमा भनिएको छ ।