बीमा कम्पनीहरूले लघुबीमामा चासो नदिएपछि भर्खरै स्थापना भएका लघुबीमा कम्पनीहरूले आफ्नो व्यवसाय तीव्र गतिमा विस्तार गरेका छन् । लघुबीमा व्यवसायका लागि यो सुखद समाचार भए पनि ठूला बीमा कम्पनीले नियामकीय प्रावधान पूरा गरेका छैनन् । यसले नियामक निकायको कमजोरी देखाएको छ अथवा बीमा कम्पनीहरूले नियामकको निर्देशन टेरेनन् भन्ने बुझाउँछ । नेपाल बीमा प्राधिकरणले २०७९ मङ्सिरमा तीनओटा जीवन लघुबीमा र चारओटा निर्जीवन लघुबीमा कम्पनीलाई व्यवसाय गर्न स्वीकृति दिएको थियो । प्राधिकरणले गरीब तथा विपन्न वर्गमा बीमा पुर्याउन २०७१ मा लघुबीमा निर्देशिका जारी गरेको थियो । त्यसैअनुसार २०७५ मा उसले बीमा कम्पनीहरूलाई कुल बीमाको १० प्रतिशत लघुबीमा गर्नुपर्ने निर्देशन जारी गरेको थियो । त्यो निर्देशनअनुुसार अहिले पनि बीमा कम्पनीहरूले १० प्रतिशत लघुबीमा गराउनेतर्फ चासो दिएका छैनन् । झन् अहिले लघुबीमा आएपछि त उनीहरूका लागि लघुबीमा चासोको विषय नै बनेको छैन । उनीहरूले लघुबीमामा चासो नदिँदा लघुबीमा कम्पनीहरूले आफ्नो व्यवसाय तीव्र गतिमा विस्तार गर्न सकेका छन् ।
नियामक निकायले सकेसम्म चुस्त नियम बनाउनुपर्छ । तर, ती नियमको पालनाचाहिँ कडाइका साथ गराउनुपर्छ । एकातिर १० प्रतिशत लघुबीमा अनिवार्य भनेर निर्देशन जारी गर्ने अनि यो निर्देशन पालना नगर्ने कम्पनीलाई सचेतमात्र पनि नगराउने कुरा गलत छ । नीति निर्देशन बनाएपछि त्यो कार्यान्वयनमा लैजानैपर्छ । तर, कार्यान्वयनमा अल्छी बन्दा कोही सकी नसकी नियम पालना गर्ने त छट्टुहरू नियम मिचेरै अघि बढ्ने हुन्छन् । त्यसले अराजकतालाई निम्त्याउँछ, सुशासनमा समस्या आउँछ र नियमविहीनताको अवस्था ल्याउँछ । त्यसैले प्राधिकरणले यसमा कडाइ गर्नुपर्छ । लघुबीमा नगर्ने कम्पनीलाई कारबाही गर्न सक्नुपर्छ । अलग लघुबीमा कम्पनी बनिसकेकाले अब ठूला बीमा कम्पनीका लागि यो आवश्यक छैन भन्ने हो भने प्राधिकरणले निर्देशिका परिवर्तन गर्नुपर्छ ।
अहिले ठूला कम्पनीहरूको निर्जीवन व्यवसाय नाममात्रको बढेको छ भने जीवन बीमाको व्यवसाय १० प्रतिशत बढेको छ । निर्जीवन बीमाले व्यवसाय विस्तार गर्न लघुबीमा गराउनुपथ्र्यो । तर, उनीहरूले यसलाई झन्झटिलो माने । लघुबीमा कम्पनी अलग नै स्थापना भइसकेपछि यसलाई अनिवार्य नगर्ने व्यवस्था गरिनुपर्छ । लघुबीमा कम्पनी सञ्चालनमा आएको १ वर्षमा यसको ८५ प्रतिशत अंश लघुबीमा कम्पनीले ओगट्नु भनेको निकै राम्रो व्यवसाय हो । गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरूले कुल १ लाख ४७ हजार बीमालेखा जारी गरी ३१ करोेड ३६ लाख रुपैयाँ लघुबीमा जम्मा गरेका थिए भने लघुबीमा कम्पनीहरूले १ लाख २७ हजार बीमालेख जारी गरी २९ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क जम्मा गरेका छन् । एक वर्षमै यति ठूलो प्रगति गर्नुको एउटा कारण ठूला कम्पनीहरूले यसमा त्यति चासो नदिनु हो ।
लघुबीमाको बजार पनि राम्रो रहेछ भन्ने कुरा बीमा लेखहरू विश्लेषण गर्दा देखिन्छ । व्यवसाय विस्तार गर्न नसकिरहेका निर्जीवन बीमा कम्पनीहरूले यस्तो बीमाका लागि सक्रिय हुन उपयुक्त देखिन्छ । सरकारलाई विभिन्न शीर्षकमा बीमा अनिवार्य गर्न लगाउने र बजार विस्तार गने नीति बीमाको मान्यतामा पर्दैन । यद्यपि सरकारले आफ्ना जनतालाई जोखिमबाट बच्न यस्तो बीमा गर्न प्रोत्साहित गर्नुपर्छ र गरेको पनि छ । बीमा कम्पनीहरूले सानो क्षेत्र भनेर यसलाई बेवास्ता गर्नु नपर्ने देखिन्छ ।