मुलुकका २८ जिल्लाबाट पैदल हिँडेर आएका अनुचित लेनदेन (मीटरब्याजी) र लघुवित्तपीडितहरू राजधानीमा आई न्याय चाहियो भनेर सरकारलाई दबाब दिइरहेका छन् । ऐनकानूनलाई हातमा लिएर अनुचित लेनदेनसम्बन्धी कार्य गर्दै आएका मीटरब्याजपीडितहरू र ऐन, नियम कानूनबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालित लघुवित्त वित्तीय संस्थाबाट पीडित भनिएकाहरू एउटै मोर्चामा सम्मिलित भई विरोधमा सहभागी हुँदा धेरैमा अन्योल सृजना गरेको छ । लघुवित्त र मीटरब्याजीको समस्या एउटै प्रकृतिका होइनन् । यी दुईको कानूनी वैधता र काम गर्ने प्रक्रिया फरक छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ४९ (घ) मा उल्लेख भएका व्यवस्था, प्रचलित ऐनकानून, नेपाल राष्ट्र बैंक र संस्थाको नीतिगत व्यवस्था र असल अन्तरराष्ट्रिय अभ्यासको अधीनमा रही लघुवित्त वित्तीय संस्थाले लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्दै आएका छन् । यी संस्थाको सेवामा कुनै कमीकमजोरी भएमा र सदस्यबाट आएका गुनासो नियमनका क्रममा सही देखिए राष्ट्र बैंकले संस्थालाई कारबाही गर्ने व्यवस्था रहेको छ । विभिन्न नीतिगत व्यवस्था र आन्तरिक नियन्त्रण प्रणालीको माध्यमबाट संस्थाका कामकारबाहीलाई पारदर्शी र सबल बनाउने कार्यलाई पनि संस्थाले निरन्तरता दिइरहेको हुन्छ । कोरोना, भूकम्प, रूस–युक्रेन युद्ध, आर्थिक मन्दी, संघर्ष समितिको दबाब आदि कारणले ऋणी सदस्यले समयमै कर्जा भुक्तानी गर्न नसकेका/नगरेकाले लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जाको अंश बढेर ७ दशमलव ४९ प्रतिशत (करीब रू. २९ अर्ब) पुगेको छ ।
साहूमहाजनले आफुखुशी तमसुक बनाई गरीब तथा विपन्न वर्गलाई उच्च ब्याजदरमा ऋण दिने, जति तिरे पनि ऋण चुक्ता नहुने, कतिपय अवस्थामा ऋणीहरूको घरखेत नै हडप्नेलगायत आर्थिक अपराध गर्ने मीटरब्याजीले समस्यामा परेका कमजोर वर्गलाई ऋण दिई उनीहरूलाई आर्थिक फन्दामा पार्दै आएका छन् । ऐन, नियमकानूनबाट बेलगाम यी मीटरब्याजीबाट पीडितहरूको समस्यालाई समाधान गर्न सरकारले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको भए पनि त्यो कार्यान्वयनमा ल्याएको छैन । यद्यपि सरकारले अनुचित लेनदेन तथा मीटरब्याजसम्बन्धी उजुरी संकलन तथा फछ्र्योटका लागि कार्यसम्पादन कार्यविधि हालै जारी गरेको छ । यसअनुसार सतहत्तरै जिल्लामा प्रहरीले पीडितको निवेदन बुझ्ने व्यवस्था गरिएको र पहिलो चरणमा प्रहरीले मेलमिलापको प्रयास गर्ने र त्यसो हुन नसकेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा (३२) बमोजिम कारबाही अघि बढाइने व्यवस्था लागू भएको छ ।
राजनीतिक नेतृत्वले त बुझ पचाएर नै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न सत्यतथ्यभन्दा धेरै बाहिर रहेर लघुवित्तले उच्च ब्याज लिएर सदस्यलाई शोषण गरेका जस्ता विचार राख्ने गरेकाले सर्वसाधारणलाई लघुवित्त क्षेत्रप्रति भ्रम सृजना भएको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाले विपन्न वर्गलाई विनाधितो/स्वीकारयोग्य धितो कर्जा प्रदान गरी मुलुकमा स्वरोजगारको विकास गर्दै आएका छन् । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा छिटपुट संख्यामा आबद्ध भएका टाठाबाठा र मध्यमवर्गका अधिकांश सदस्यले बहुबैंकिङको कारोबारमार्फत सीमाभन्दा बढी कर्जा लिने, त्यसको सदुपयोग गर्नेतर्फ ध्यान नदिने र समयमै कर्जाको साँवाब्याज भुक्तानी नगर्ने क्रम बढेको छ । कर्जा नतिर्ने सदस्यहरू नै संघर्ष समितिमा लागेर ऋण नतिर्न अन्य ऋणी सदस्यलाई उक्साइरहेका छन् ।
लघुवित्त वित्तीय संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्न ढिला हुनु, शाखा विस्तार सुविधाजनक क्षेत्रमा केन्द्रित हुनु, संस्थाहरू नाफाकेन्द्रित हुनु, केही सदस्यले आफ्नो क्षमताभन्दा बढी कर्जा लिनुलगायत कारणले लघुवित्त क्षेत्रमा बहुबैंकिङ, सीमाभन्दा बढी कर्जा प्रवाह, कर्जा सदुपयोगिताको पक्ष कमजोर भएको देखिन्छ । यस्तो अस्वस्थ्य प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले २०७९ फागुन १० गते ऋणी सदस्यले एउटा संस्थाबाट मात्र सीमासम्मको कर्जा लिन पाउने, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएकाले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन नपाउने, कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुनेगरी बचतको न्यूनतम ब्याजदर प्रदान गर्नुपर्ने, कर्मचारीलाई तालिममा जोड दिनुपर्नेलगायत निर्देशन जारी गरेपश्चात् यस क्षेत्रमा विगतमा भएका अस्वस्थ्य प्रतिस्पर्धा क्रमश: घट्दै गएको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाले चर्को ब्याज र सेवाशुल्क लिएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । लघुवित्त वित्तीय संस्थाले सदस्यलाई घरदैलोमा दिने सेवा, साना आकारको विनाधितो कर्जा, वित्तीय स्रंोतको लागतलगायत कारण लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदर सामान्यतया अन्य बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदरभन्दा केही महँगो हुने गर्छ । यद्यपि नेपाल राष्ट्र बैंकले विगत ३ वर्षदेखि यस्तो ब्याजदरमा १५ प्रतिशतको सीमा निर्धारण गरेको छ । तरलताको अभाव भएको विगत वर्षमा अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुकर्जाको ब्याजदर खासै महँगो नभएको अनुभव पनि यस क्षेत्रसँग रहेको छ । लघुवित्तको शुरुआती चरणमा २५ प्रतिशत रहेको ब्याजदर क्रमश: घटेर १५ प्रतिशतसम्म आइपुग्दा पनि ब्याजदर चर्को भएको विरोधले निरन्तरता पाइरहेको छ । लघुकर्जाको ब्याजदरको सन्दर्भमा अन्तरराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने भारतमा १८–२३ प्रतिशत, बंगलादेशमा २४ प्रतिशत, पाकिस्तानमा २३–२५ प्रतिशत, अफ्रिकी मुलुकमा ३४ प्रतिशत, दक्षिण अमेरिकी मुलुकमा ३० प्रतिशत रहेको पाइन्छ । तुलनात्मक रूपमा नेपालमा लघुवित्तको ब्याजदर विरोध गरिएजस्तो महँगो नहुँदा पनि संसद्देखि सडकसम्म यसको विरोध हुुनुले एकातिर सर्वसाधारण लघुकर्जाको ब्याजदर निर्धारणको प्रक्रियामा पूर्णरूपले अनभिज्ञ रहेको र अर्कोतिर विरोध गर्नेहरू सुनियोजित तवरले नै लागेको अनुमान गर्न सकिन्छ ।
वित्तीय पहुँचको माध्यमबाट गरीबी न्यूनीकरण, लक्षित वर्गमा वित्तीय सचेतना, महिला सशक्तीकरण, निर्णयमा महिलाको क्षमता वृद्धिलगायत लघुवित्त वित्तीय संस्थाको गर्विलो योगदानलाई छायाँमा पार्दै लघुवित्त वित्तीय संस्थाको खारेजीको माग गर्दै संघर्ष समितिले विगत २ वर्षदेखि आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । लघुवित्त क्षेत्रमा भएका उल्लिखित अवस्थालाई हेर्दा संस्थागत लघुवित्तले ३ दशकको समयावधि पार गरिसक्दा पनि लघुवित्त कार्यक्रमको सञ्चालन प्रक्रिया, संस्था र सदस्यको स्वनियमन, सदस्यमा वित्तीय अनुशासन र इमानदारीको आवश्यकता, वित्तीय स्रोतको संकलन प्रक्रिया, ब्याज निर्धारण प्रक्रिया, नियामकको नियमन, निरीक्षण तथा सुपरिवेक्षण, संस्थागत सुशासनलगायत विषयमा समाजका सबै तह र तप्काका जनता पूर्णरूपले जानकार नभएको अनुमान गर्न कठिन छैन । राजनीतिक नेतृत्व त बुझ पचाएर नै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न सत्यतथ्यभन्दा धेरै बाहिर रहेर लघुवित्तले उच्च ब्याज लिएर सदस्यलाई शोषण गरेका जस्ता विचार राख्ने गरेकाले सर्वसाधारणलाई लघुवित्त क्षेत्रप्रति भ्रम सृजना भएको देखिन्छ ।
उल्लिखित अवस्थालाई विश्लेषण गर्दा लघुवित्त वित्तीय संस्था र मीटरब्याजी नितान्त भिन्न विषय हुन् । कानून हातमा लिएर गैरकानूनी आर्थिक कारोबार सञ्चालन गर्ने मीटरब्याजी र संस्था खारेजी र ऋण मिनाहा गर्न आन्दोलन गर्दै आएको संघर्ष समितिलाई सरकारले कानूनी घेरामा ल्याउन ढिला गर्नु हुँदैन । त्यसैगरी सदस्यका जायज गुनासोलाई लघुवित्त वित्तीय संस्था र नेपाल राष्ट्र बैंकले सम्बोधन गरेर सदस्यलाई मर्का परेको भए त्यसको सुनुवाइ गर्नुपर्छ । त्यसैगरी राजनीतिक नेतृत्वदेखि सर्वसाधारणलाई लघुवित्त कार्यक्रमको सम्पूर्ण पक्षको जानकारी दिन वित्तीय साक्षरता कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । अनुपालनाको उद्देश्यले अन्य कार्यक्रमसँग जोडेर लघुवित्त वित्तीय संस्थाद्वारा सञ्चालन गरिने वित्तीय साक्षरता कार्यक्रमले मात्र पूर्णरूपमा वित्तीय साक्षरता प्रदान गर्न सक्दैन । यही अवस्थालाई दृष्टिगत गरी आगामी मार्च १८ देखि २४ सम्म मनाइने ग्लोबल मनी विकलाई सार्थक बनाउनेतर्फ सबै सरोकारवाला लाग्नुपर्ने देखिन्छ । यसो गर्न सकेमा मीटरब्याजी र लघुवित्त वित्तीय संस्थाबीचको भिन्नता स्पष्ट भई लघुवित्त वित्तीय संस्थाप्रति सबैको सकारात्मक दृष्टिकोण निर्माण हुन सहयोग पुग्ने देखिन्छ ।
लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।